यी चर्चित वैज्ञानिक जसले हाँस्दै हाँस्दै आफ्नो जीवनबाट विदा लिए, गरे इच्छामृत्युवरण

एजेन्सी । वैज्ञानिक डेविड गुडअलले स्विटजरल्याण्डको एक क्लिनिकमा आफ्नो जीवनको अन्त्य गरेका छन् । इच्छामृत्युको अधिकारका लागि काम गरिरहेको संस्थाले १ सय ४ वर्षीय गुडअलको निधनको जानकारी दिएको छ ।

लण्डनमा जन्मिएका गुडअल बोटनी र इकोलोजीका प्रख्यात वैज्ञानिक थिए । मे ३ तारिखका दिन उनले अष्ट्रेलियाको आफ्नो घरबाट बिदा लिएका थिए । उनले आफ्नो जीवन समाप्तीका लागि संसारको दोस्रो मुलुक चयन गरे । उनको उक्त निर्णयले संसारभरीका मानिसहरुको ध्यान आकर्षित गरेको थियो ।

उनलाई कुनै ठूलो रोग लागेको थिएन तर पनि उनी आफ्नो जीवनको सम्मानजनक अन्त्य चाहन्थे । आफ्नो स्वतन्त्रता गुमिरहेको भन्दै उनले जीवन अन्त्य गर्ने सोच बनाएको बताएका थिए । आफ्नो मृत्युको केही समय अघि मात्र उनले जीवन अन्त्य गर्न लागेकोमा निकै खुसी भएको बताएका थिए ।

आफ्नो परिवारका सदस्यले घेरिएका गुडअलले भनेका थिए, ‘विगत एक वर्षदेखि मेरो जीवन खासै राम्रो भइरहेको छैन त्यसकारण म यसलाई अन्त्य गर्दा निकै खुसी छु ।’ उनले भने, ‘मेरो मृत्युले जुन प्रचार पाइरहेको छ, मलाई लाग्छ कि यसले वृद्ध–वृद्धाका लागि इच्छामृत्युको अधिकारको मागमा बल मिल्नेछ । म यही चाहन्छु ।’

एक्जिट इन्टरनेशनल नामको एक संगठनले गुडअललाई आफ्नो जीवन अन्त्य गर्न मद्दत गरेको हो । संस्थाका संस्थापक फिलिप नित्जेले भने, ‘बेसलको लाइफ साइकल क्लिनिकमा विद्वान वैज्ञानिकको शान्तीपूर्ण निधन १०ः३० बजे (जीएमटी) भयो ।’

गुडअल आफ्नो अन्तिम संस्कारको कागजी प्रक्रियाका लागि झण्झटमा थिए । नित्जेका अनुसार उनलाई यसमा धेरै नै समय लागिरहेको थियो । गुडअलले अन्तिम भोजनको रुपमा फिश एण्ड चिप्ससँग चिजकेक खाए र बिथोवनको ‘ओड टु जोय’ गीत सुने ।

सधैं सक्रिय जीवन

लण्डनमा जन्मिएका डेविड गुडअल केही हप्ता अघिसम्म पश्चिम अष्ट्रेलियाको पर्थमा आफ्नो एक सानो फ्ल्याटमा एक्लै बस्थे । उनले सन् १९७९ मा जागिर छोडेका थिए तर त्यसपछि पनि उनी लगातार फिल्ड वर्कमा जाने गर्दथे । उनले पछिल्लो समयमा ‘इकोलोजी अफ द वर्ल्ड’ नामको ३० भोलुमको पुस्तक सिरिजको सम्पादन गरेका थिए ।

१ सय २ वर्षको उमेरमा सन् २०१६ मा उनले पर्थको एडिथ कोवन विश्वविद्यालय परिसरमा काम गर्ने सम्बन्धमा कानूनी लडाईं जिते । त्यहाँ उनी अवैतनिक मानद रिसर्च असोसिएटको रुपमा काम गर्दथे ।

जीवनको अन्त्य गर्ने निर्णय

डा. गुडअलले आफ्नो जीवन समाप्तीको निर्णय गत महिनामा भएको एक घटनापछि लिएका थिए । एक दिन उनी आफ्नो घरमा लडे र दुई दिनसम्म हिँडडुल गर्न सकेनन् । त्यसपछि डाक्टरले उनलाई २४ घण्टा निगरानीमा राख्नुपर्ने बताउँदै अस्पताल भर्ना हुनुपर्ने सल्लाह दिए ।

एक्टिज इन्टरनेशनलसँग सम्बन्धित केरल ओ’नील भन्छन्, ‘उनी स्वतन्त्र व्यक्ति थिए । सधैं भरी उनी आफ्नो वरिपरि कोही भएको देख्न चाहँदैनथे । कुनै अपरिचितले उनको हेरबिचार गरोस् भन्ने उनको चाहना थिएन ।’

स्विटजरल्याण्ड नै किन ?

स्विटजरल्याण्डले सन् १९४२ देखि ‘असिस्टेड डेथ’ लाई मान्यता दिएको छ । अन्य थुप्रै देशले स्वेच्छाले आफ्नो जीवन अन्त्यलाई कानूनी मान्यता राखेपनि यसका लागि गम्भीर रोगलाई शर्तको रुपमा राखिएको छ ।

अष्ट्रेलियन मेडिकल असोसिएसनले ‘असिस्टेड डाइंग’ लाई अनैतिक बताउँदै कडा विरोध गर्दै आएको छ । असोसिएशनका अध्यक्ष डा. माइकल गेनन भन्छन्, ‘डाक्टरलाई मानिसहरु मार्न सिकाइएको हुँदैन । यस्तो गर्नु गलत हो । सो सोच हाम्रो तालिम र नैतिकताको गहिराइसँग जोडिएको छ ।’

Loading...