बिरोधका बाबजुद भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै, यस्तो छ तयारी

काठमाडौं, २८ बैसाख ।

नेपालीहरुको बिरोधका बाबजुद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदै छन् । मोदी नयाँ दिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट बिहान सवा १० बजे जनकपुर आइपुग्ने कार्यक्रम रहेको बताईएको छ ।

जनकपुरमा उनले जानकी मन्दिरमा पूजाअर्चना गर्नेछन् भने ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा प्रधानमन्त्री केपी ओलीले नागरिक अभिनन्दनका नाममा आयोजना गरेको आमसभालाई सम्बोधन गर्नेछन् । विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत लगायत प्रदेशका मन्त्रीहरुले मोदीको स्वागत गर्ने बताईएको छ ।

त्यसपछि त्यहाँबाट मोदी जानकी मन्दिर पुगेर विशेष पूजाअर्चना गर्नेछन्, आज जानकी मन्दिरमा सर्वसाधारणलाई प्रवेश रोक लगाइएको छ । पूजाअर्चनाको बेला एकसय एक साधुले एकैपटक शंखनाद गर्नेछन् । झण्डै ४५ मिनेट जानकी मन्दिरमा बिताउने मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन्  भने दुवै प्रधानमन्त्रीको भेटवार्ता समेत हुने छ । त्यसक्रममा दुवै प्रधानमन्त्रीले रामायण सर्किटको संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ । सेनाको हेलिकप्टरबाट काठमाडौबाट जनकपुर पुग्ने प्रधानमन्त्री ओली जनकपुर चुरोट कारखानामा ओर्लेर समकक्षीलाई स्वागत गर्न त्यही समयमा पुग्नेछन् ।

जानकी मन्दिरमा पूजापछि मोदी ऐतिहासिक रंगभूमि मैदानमा पुग्नु हुनेछ । त्यहाँ जनकपुर उपमहानगरपलिकाका मेयर लालकिशोर साहले नागरिक अभिनन्दन गर्नेछन्  । नेपाली भाषामा तयार अभिनन्दन पत्र मेयर साहले मैथिली भाषामा पढेर मैथिली भाषामा अभिनन्दन गर्ने जनकपुर उपमहानगरपालिकाको तयारी छ ।

स्वागत एवं अभिनन्दन समारोहमा मोदीलाई १ सय २१ किलोको फूलको माला पनि पहिराएर स्वागत गर्ने योजना छ । नागरिक अभिनन्दनपछि मोदीले समारोहलाई सम्बोधन गर्नु हुनेछ । मोदीको भ्रमणका कारण आज प्रदेश नं. २ मा सार्वजनिक बिदा दिइएको छ ।

यता नागरिक अगुवा, बुद्दिजिबि र नेपाल कम्युनिष्ट पार्टीसहित अधिकांश नेपालीहरुले नाकाबन्दीकर्ता मोदीलाई कुनैपनि अभिनन्दन गर्न नहुने बताइरहेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी आजै काठमाडौं आउने छन् । काठमाडौं आएपछि उनलाई टुंडिखेलमा गार्डअफ अनर प्रदान गर्ने तयारी छ । उनले आजै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाडौंमा ओलीर मोदीले स्वीच थिचेर ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना शिलान्यास गर्ने बताईएको छ । तर नेपाल कम्युनिष्ट पार्टीले भने अरुण तेस्रो जलविद्युत आयोजना उद्घाटन नगर्न भनेको छ ।

मोदी भोलि काठमाडौंबाट मुक्तिनाथ जाने कार्यक्रम छ । मुक्तिनाथमा पूजा गरेपछि काठमाडौं फर्केर पशुपतिनाको मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । भोलि नै उनले राजनीतिक भेटवार्ता गर्नेछन् भने काठमाडौं महानगरपालिकाको तर्फबाट उनलाई नागरिक अभिनन्दन गर्ने तयारी छ । भोलि दिउँसो ४ बजे मोदी भारतीय सेनाको विशेष विमानबाट नयाँ दिल्ली फर्किने छन् ।

भारतका कार्यकारी सरकार प्रमुखका रुपमा तेस्रो पटक हुन लागेको यो भ्रमण मोदीका लागि पनि तनावग्रस्त हुने देखिएको छ । किनभने अहिलेको अवस्थामा पुरै नेपाली मोदीबिरुद्ध खनिएका छन् । एमाले नेता-कार्यकर्ता र मधेसी नेता-कार्यकर्ताबाहेक सबै मोदीको विरोधमा उत्रिएका छन् ।

Loading...