मोदी आउनुअघि मुजाहिद्दिनका दुई संस्थापकलाई नेपालमा पक्राउ गरी भारतमा बुझाइएको खुलासा

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमण निश्चित हुनुअघि आतंकबादी संगठन इन्डियन मुजाहिद्दिनका दुई संस्थापक सदस्यलाई नेपालमा पक्राउ गरेर भारतमा बुझाएको खुलेको छ।

भारतको केन्द्रीय राजधानी दिल्लीमा सन् २००८ मा १६५ जनाको ज्यान जानेगरी भएको श्रृङ्खलावद्ध बम बिस्फोटका आरोपी नेपालमा पक्राउ परेको खुलेको हो। यस्तै इन्डियन मुजाहिद्दिनका सह–प्रमुख रहेका अब्दुल सुभान कुरेसी समेत नेपालमै पक्राउ गरेर भारतमा बुझाइएको खुलेको हो।

भारत सरकारले जुनैद र कुरेसीलाई पक्राउ गर्ने वा सूचना दिनेलाई १० र ४ लाख भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो। दुवै नेपालमा छद्मभेषमा लुकिछिपी बस्दै आएका थिए। प्रहरीको बिशेष ब्युरोले १० लाख भारतीय पुरस्कार घोषणा गरिएका जुनैद भनिने आरिज खानलाई २६ माघ २०७४ मा काठमाडौंको नक्सालबाट पक्राउ गरेर भारतमा बुझाएको हो।

यस्तै इन्डियनमुजाहिद्दिन (आईएम) का संस्थापक यासिन भट्कल (मोहम्मद अहमद सिद्धिबाप्पा) चार वर्षअघि नेपालमा पक्राउ परेपछि उनको स्थान लिएका अब्दुल सुभान कुरेसीलाई कपिलवस्तुको पचेहराबाट २५ पुस २०७४ मा पक्राउ गरेको खुलेको हो। उनलाई पक्राउ गर्नेलाई ४ लाख भारतीय रुपैयाँ पुरस्कारको घोषणा भारत सरकारले गरेको थियो।

गृह स्रोतका अनुसार भारतको गणतन्त्र दिवस (२६ जनवरी) मा आतंकबादी हमला हुनसक्ने भारतीय गुप्तचर संस्थाहरुको गोप्य सूचनापछि दुवैको नेपालमा समेते खोजी तीब्र पारिएको थियो।

कुरेसी शिक्षक र जुनैद मेकानिक्सको भेषमा

भारतको नेशनल इन्भेष्टिगेशन एजेन्सी (एनआईए) सहितका सुरक्षा निकायको खोजीमा रहेका कुरेसी ४ वर्षदेखि कपिलवस्तुको पचेहरामा रहेको एउटा मदरसामा शिक्षकको भेषमा थिए।

भारतीय ओसामा विन लादेनको उपमा पाएका महाराष्ट्रका कुरेसी अंग्रेजी र गणितमा पोख्त थिए। कपिलवस्तुमा रहेको प्याडाईज स्कुलमा अध्यापनमा समेत सक्रिय उनलाई पक्राउ परेकै दिन भारतीय सुरक्षा अधिकारीलाई बुझाइएको थियो।

भारतको गुजरात, दिल्ली र बैङलुरुमा विभिन्न समयमा भएका श्रृङ्खलावद्ध आक्रमणमा संलग्न कुरेसी सन् २०११ देखि २०१४ सम्म खाडी देश गएर फर्किएका थिए। कपिलवस्तुमा बसेर भारतमा आतंककारी गतिविधिमा सक्रिय कुरेसीले इन्डियन मुजाहिद्दिनका लागि नयाँ सदस्य भर्ना, अर्थ संकलन र धार्मिक युद्ध (जिहाद) का लागि सदस्य तयार गरिरहेका थिए।

ब्युरोको टोलीले पक्राउ गर्दा मदरसामा बालबालिकालाई पढाउँदै रहेका कुरेसीका साथबाट महत्वपूर्ण दस्तावेज र सम्पर्कसम्बन्धी कागजपत्र बरामद भएको थियो।

भारतीय संसदमा समेत चर्चाको विषय बनेको दिल्लीको जामियानगरस्थित बटला हाउस इन्काउन्टरमा ज्यान जोगाएर भाग्न सफल जुनैद उपनाम भएका आरिज काठमाडौंको सितापाइला र नक्सालमा आलोपाले गरी बस्दै आएका थिए। नेपालमा मेकानिक्सको भेषमा बसेका उनलाई भारतीय सुरक्षा एजेन्सीको सूचनाका आधारमा ब्युरोले पक्राउ गरेको थियो।

इन्डियन मुजाहिद्दिनका बम एक्सपर्ट रहेका जुनैद उत्तर प्रदेश आजमगढका स्थायी बासिन्दा हुन्। भारतमा सन् २००७ पछि विभिन्न समयमा भएका श्रृङ्खलावद्ध आक्रमणमा सक्रिय उनले नेपाली युवतीसँग विवाह समेत गरेका थिए।

पम्फा नाम भएकी ती नेपाली युवतीको आधारमा अंगिकृत नागरिकता समेत लिएका उनी २००८ सेप्टेम्बरमा भएको बटला हाउस इन्काउन्टरपछि नेपाल–भारत आवतजावत गरिरहेको थिए।

भारतको नयाँ दिल्ली जामिया नगरमा रहेको बटला हाउसमा सन २००८ को सेप्टेम्बरमा भएको कारवाहीमा बाच्न सफल जुनैद नक्साल नारायण चौरबाट पक्राउ परेका हुन्। दिल्लीका इन्काउन्टर स्पेशलिस्ट मोहन चन्द शर्माको ज्यान जानेगरी भएको उक्त इन्काउन्टर ‘फेक’ रहेको बिषयले संसदमा प्रवेश पाएपछि जुनैदको खोजी जारी राखिएको थियो।

Loading...