१० महिनामा इन्धन खरिदका लागि सवा खर्ब बाहिरियो

काठमाडाैं, २६ बैशाख । मुलुकमा पछिल्लो १० महिनामा इन्धन आयातका लागि सवा खर्ब रुपैयाँ बाहिरिएको छ । इन्धन आयात गर्दा मुलुकले १० महिनामा १ खर्ब १७ अर्ब रुपैयाँ खर्चनु परेको हो ।

बजारमा इन्धनको खपत दिनप्रतिदिन बढ्दै गएपछि आयातदर बढ्दै गएको हो । मुलुकमा पछिल्लो १० महिनामा इन्धन आयातका लागि सवा खर्ब रुपैयाँ बाहिरिएको छ । इन्धन आयात गर्दा मुलुकले १० महिनामा १ खर्ब १७ अर्ब रुपैयाँ खर्चनु परेको हो । बजारमा इन्धनको खपत दिनप्रतिदिन बढ्दै गएपछि आयातदर बढ्दै गएको हो ।

मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा छ । नेपाल आयल निगमका अनुसार पछिल्लो १० महिनामा १ खर्ब १७ अर्ब २३ करोड रुपैयाँ बराबरको २१ लाख ३५ हजार ९ सय ८ किलोलिटर इन्धन भित्रिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ८ अर्ब ९५ करोड रुपैयाँ बराबरको २२ लाख २९ हजार सात सय ४० किलोलिटर इन्धन आयात भएको थियो । यो वर्ष अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्य बढेकाले बढी मुल्यको इन्धन आयात भएको हो ।

निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले सवा खर्बभन्दा बढीकोे पेट्रोलियम पदार्थ आयात भएको बताए । बजारमा इन्धन खपत दिनप्रतिदिन बढ्दै गएकाले पनि इन्धनको आयातदर बढ्दै गएको उनको भनाइ छ ।

१० महिनामा सबैभन्दा धेरै डिजेल ११ लाख ९२ हजार ४७ किलोलिटर आयात भएको छ । सो अवधिमा तिन लाख ७६ हजार ८ सय १७ किलोलिटर पेट्रोल आयात भएको निगमको तथ्यांक छ । १ लाख ५७ हजार ५ सय ८० किलोलिटर हवाई इन्धन र १६ हजार ८ सय ५६ किलोलिटर मटीतेल भित्रिएको छ । यस्तै, २ लाख ९१ हजार ७ सय ७ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । छिमेकी मुलुक भारतबाट इन्धनको आयात हुने गर्छ ।

बढ्दो सवारीसाधनको प्रयोगले गर्दा पनि बजारमा दिनप्रतिदिन इन्धनको खपत बढ्दै गएको छ । विकास निर्माणको काम तिव्रगतिमा अगाडि बढिरहेकाले पनि इन्धनको खपत बढ्दै गएको निगमको भनाइ छ । निगमका अनुसार जुलाई महिनामा १ लाख ९६ हजार ३ सय ५४ किलोलिटर इन्धन आयात भएको छ । यस्तै अगस्त महिनमा १ लाख ५९ हजार ६ सय ७७ किलोलिटर, सेप्टेम्बर महिनामा १ लाख ६८ हजार, अक्टोबर महिनामा १ लाख ९३ हजार सात सय ८९ किलोलिटर इन्धन आयात भएको छ ।

नोभेम्बरमा इन्धनको आयात बढेर २ लाख ३८ हजार ५ सय ६९, डिसेम्बर महिनामा २ लाख २७ हजार ५ सय दुई किलोलिटर इन्धन आयात भएको छ । यस्तै, जनवरी महिनामा २ लाख ४२ हजार २ सय ४, फेब्रुअरी महिनामा २ लाख २३ हजार ३ सय ३४ किलोलिटर इन्धन आयात भएको छ । यस्तै मार्च महिनामा २ लाख ४३ हजार ८ सय ८१ र अप्रिल महिनामा २ लाख ४२ हजार ५ सय १७ किलोलिटर इन्धन आयात भएको निगमको तथ्यांक छ ।

लोडसेडिङ घटे पनि प्रत्येक महिनामा इन्धनको आयातदर बढ्दै गएको छ । निगमका अनुसार हाल मासिक सरदर ७५ देखि ८० हजार किलोलिटर डिजेल माग रहेको छ । यस्तै, पेट्रोल मासिक २५ देखि ३० हजार किलोलिटर, हवाई इन्धन १२ देखि १५ हजार किलोलिटर र ग्यास २५ देखि ३० हजार मेट्रिक टन माग रहेको छ । उपत्यकामा दैनिक पेट्रोल साढे ३ सय किलोलिटर र डिजेल साढे ४ लाख किलोलिटर खपत हुनेगर्छ ।

Loading...