नेपाली लेन्सको माग विश्वमा बढ्दो

काठमाडाैं, २६ बैशाख । तिलगंगा आँखा अस्पतालले वार्षिक १२ करोड रुपैयाँ बराबरको लेन्स निर्यात गरेको छ । ठूलो परिमाणमा चश्माको लेन्स आयात भइरहेकाले बेला अस्पतालले १२ करोड रुपैयाँ बराबरको २ लाख संख्यामा लेन्स निर्यात गर्दै आएको हो ।

मुलुकबाट तिलगंगा अस्पतालले मात्र वाह्य मुलुकमा लेन्स निर्यात गर्दछ । गुणस्तरीय उत्पादनका कारण नेपाली लेन्सको माग बढ्दो छ । अस्पतालले वार्षिक रूपमा ३ लाख ५० हजार संख्यामा लेन्स उत्पादन गर्छ । तिलगंगा अस्पतालका उत्पादनतर्फका निर्देशक नवीन अधिकारीले चीन, पाकिस्तान, भियतनाम, कम्बोडिया, साउथ अफ्रिका, श्रीलंका, थाल्यान्ड, ताइवान, फिलिपिन्स, मंगोलियालगायतका देशमा लेन्स निर्यात हुने गरेको जानकारी दिए । लेन्स बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ युरोपबाट आयात हुने गरेको अस्पतालले जानकारी दिएको छ । प्रतिपिस लेन्सको लागत ३ सय रुपैयाँदेखि २ हजार रुपैयाँ पर्ने अस्पतालले जानकारी दिएको छ । अस्पतालले विभिन्न प्रकारका लेन्स उत्पादन गरी निर्यात गर्ने गरेको छ ।

सरकारले लेन्स उत्पादन वृद्धि गरेर निर्यात बढाउनका लागि अस्पतालले १० करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । मंगलबार आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तिलगंगा आँखा प्रतिस्ठानका प्रमुख डा. सन्दुक रुइतलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । तिलगंगा अस्पतालले थप लेन्स उत्पादन गरेर निर्यात बढाउन सहयोग गर्ने मन्त्री यादवको भनाइ छ ।

‘नेपाल आँखा कार्यक्रम’ले उत्पादन गर्दै आएको मोतियाविन्दुको शल्यक्रियापछि राखिने इन्ट्रअकुलर लेन्स उत्पादन क्षमता अभिवृद्धि गर्न रु १० करोड अनुदान उपलब्ध गराएको हो ।

कार्यक्रममा मन्त्री यादवले मोतियाविन्दुको अपरेसनपछि राखिने लेन्स उत्पादन गरी विश्वका विभिन्न मुलुकमा निर्यात गरी व्यापारघाटालाई कम गर्न महत्वपूर्ण सहयोग पुगेको बताए । मन्त्रालयका वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले लेन्स उत्पादन गरी निर्यात गर्ने क्षमता अभिवृद्धिका लागि अनुदान सहयोग गरेको बताए । लेन्स उत्पादन बढाएर आयातप्रतिस्थापन गरी नियार्त प्रवद्र्धन गर्न सके व्यापार घाटा कम हुने उनको भनाई छ ।

अस्पतालका प्रमुख डा. रुइतले सरकारले उपलव्ध गराएको सहयोगले लेन्स उत्पादन बढाउन सकिने बताए । २५ वर्ष देखि लेन्स उत्पादन गरेर अन्तराष्ट्रिय बजारमा निर्यात गरिरहेको बताँउदै रुइतले उत्पादन बढाएर निर्यात बढाउदै जाने बताए । अस्पतालका अनुसार फोल्डेबल लेन्सको लागत १ हजार २ सय, हाइड्रोफोविक २ हजार र यल्लो पेस्टेरिक लेन्सको लागत १ हजार ६ सय रुपैयाँ पर्ने गर्छ ।

Loading...