बढे टेलिकमका डाटा प्रयोगकर्ता

काठमाडौँ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको फागुनसम्ममा आफ्नो डाटा सेवाका प्रयोगकर्ता १८ दशमलव १४ प्रतिशतले बढेको जनाएको छ । फागुन मसान्तसम्म डाटा सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार ७ सय २२ पुगेको टेलिकमले जनाएको छ ।

टेलिकमका कुल ग्राहक १ करोड ९१ लाख १३ हजार ७ सय पुगेका छन् । नेपाल टेलिकमले अधिकांश जिल्लामा थ्रीजी सेवा सञ्चालन गरिरहेको छ भने काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा दिइरहेको छ । देशैभर फोरजी सेवा विस्तारका लागि कम्पनीले आहवान गरेको टेन्डर हाल मूल्यांकनको चरणमा भएको टेलिकमले जनाएको छ ।

एक करोड जीएसएम आयोजनाअन्तर्गत काठमाडौं उपत्यका तथा पश्चिमाञ्चल क्षेत्रका ४८ लाख सिम क्षमताको नेटवर्क विस्तार सकिएको टेलिकमले जनाएको छ । यस्तै ५२ लाख क्षमताको मध्यमाञ्चल, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रमा नेटवर्क विस्तारको काम तीन चौथाइ सकिएको कम्पनीले जनाएको छ ।

टेलिकमले आफ्नो जीएसएम ग्राहक सेवा बढाउन केही वर्षअघि एक करोड जीएसएम आयोजना सुरु गरेको हो । यही आयोजनाअन्तर्गत रारा क्षेत्र, सिन्धुपाल्चोकको चेपेडाँडा, बागलुङको तमान खोला, दोलखाको गौरीशंकर, च्छोरोल्पा क्षेत्रको बेदिङ, धादिङको लापा, तिप्लिङ, गोर्खा, मनाङ र मुस्ताङका अति विकट स्थानमा मोबाइल सेवा विस्तार गरेको टेलिकमले जनाएको छ ।

Loading...