ओली-प्रचण्डबीच आज निर्णायक वार्ता

काठमाडौं, २० वैशाख । एमाले-माओवादी नेता कार्यकर्ताहरुलाई आज खुसीको खबर दिने उदेश्यसहित २ अध्यक्ष केपी ओली र प्रचण्ड वार्तामा जुट्दै छन् । 

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज निर्णायक वार्ता हुने माओवादी उच्च स्रोतले बतायो । प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा एकतासँग जोडिएका विषय करिब टुंगो लागिसकेकाले दुई नेताबीच एकता घोषणासभाको मितिलगायतमा केन्द्रित रहेर छलफल हुनेछ । गत ९ वैशाखमा हुने भनिएको एकता धकेलिएपछि दुई नेताले त्यसयता पाँचपटक निरन्तर छलफल गरिसकेका छन् ।

वैशाख २० गते निर्णायक छलफल गर्ने समझदारीपछि दुवै नेता आन्तरिक कार्यक्रममा व्यस्त बनेका थिए । बुधबारको सचिवालय बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकतासम्बन्धी छलफल सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिँदै बिहीबारको वार्ताबाटै निष्कर्ष आउने संकेत गरेका छन् ।

दुई दलबीच एकीकृत पार्टीमा संख्यात्मक हिस्सेदारी, चुनाव चिह्न र जनयुद्ध शब्दका विषय टुंगिन बाँकी रहेको बताइए पनि प्रचण्डले सम्मानजनक एकताका निम्ति एमाले तयार भएको जानकारी दिँदै संख्याको विषय मात्र मिलाउन बाँकी रहेको बताएका छन् । माओवादी केन्द्रसँगको एकताका विषयमा एमालेले बिहीबार आन्तरिक छलफल गर्ने भएको छ ।

Loading...