आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आहृवानमा प्रत्येक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।

नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौं उपत्यकासहित सबै जिल्लामा दिवसको अवसरमा बिभिन्न कार्यक्रम भइरहेका छन् । काठमाडौंमा बबरमहलदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी र दिउँसो युनेस्कोसमेतको सहकार्यमा एसियाको प्रेस स्वतन्त्रता अवस्थासम्बन्धी अनुगमन प्रतिवेदन सार्वजनिक तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ ।

दिवसको अवसरमा शुभकामना सन्देश दिँदै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निम्ति जीवन वलिदान गर्ने योद्धाहरूप्रति श्रद्धा व्यक्त गर्दै प्रेस स्वतन्त्रताका पक्षमा अविराम संघर्ष गर्नुहुने सबै महानुभावहरूप्रति सम्मान व्यक्त गरेका छन् । उनले यस अवसरमा सम्पूर्ण पत्रकार एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर सबैलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।

हेर्नुहोस् नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले वक्तव्यको अंश

नेपालमा प्रेस स्वतन्त्रता हननका घटनाहरूका कुरा गर्दा मुख्यरूपमा राजनीतिक गतिरोध वा आन्दोलन वा द्वन्द्व जारी रहेको अवस्थामा प्रेस र पत्रकारहरूलाई बढी आक्रमण हुने गरेको पाइन्छ । तीन चरणका निर्वाचनहरू सम्पन्न भएको यस वर्ष पनि प्रेस स्वतन्त्रता हननका घटनाहरू मूलरूपमा निर्वाचन वरिपरि नै केन्द्रित रहे । निर्वाचनका क्रममा महासंघले देशभर मिसन पठाएर प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको वातावरण तयार पार्न भूमिका निर्वाह गरेको थियो ।

यस वर्ष प्रेस स्वतन्त्रता हनन्का घटनाहरूमा मुख्यरूपमा राज्य पक्ष नै बढी संलग्न रहृयो । पत्रकारहरूको गिरफ्तारी होस् वा निर्वाधरूपमा समाचार संकलनमा रोक लगाउने काम, यस वर्ष राज्यपक्षबाट नै बढी भएको पाइएको छ ।

यसै वर्ष प्रेस स्वतन्त्रता हननका घटनामा न्यायपालिकाको समेत भूमिका रहन गयो । पत्रकारहरूबाट समाचारको स्रोत माग्ने घटना होस् वा मिडियामा आउने समाचारमा रोक लगाउन भएको प्रयत्न, न्यायपालिकासमेत यस वर्ष प्रेस स्वतन्त्रताप्रति अनुदार देखियो । संकटकालमा समेत नदेखिएका यस्ता घटना देखिनुले प्रेस स्वतन्त्रताका हिमायतीहरूलाई झस्काएको छ ।

संघीयता कार्यान्वयनको यस वर्ष प्रेस स्वतन्त्रतामाथि खतरा आउन सक्ने नीतिगत वातावरण पनि बनेको छ । विभिन्न तहहरूमा कानुन निर्माणको प्रक्रिया अघि बढिरहँदा कतिपय ऐन र प्रस्तावित मस्यौदाहरूमा प्रेस स्वतन्त्रता ग्यारेण्टी गर्ने संविधानका धाराहरू विपरित हुने खालका प्रावधानहरू पनि राखिएको छ ।

पहलकदमी आवश्यक

उदाहरणका लागि स्थानीय सरकार सञ्चालन ऐनलाई लिन सकिन्छ, जसको दफा ११ मा एफएम सञ्चालनसम्बन्धी व्यवस्थाअन्तर्गत स्थानीय तहलाई एफ.एम. रेडियो खारेजीको अधिकारसमेत दिइएको छ । यसका साथै केन्द्र, प्रदेश र स्थानीय सरकारले बनाउनु पर्ने सञ्चारसम्बन्धी ऐनहरू बन्ने क्रममै भएकाले यसलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन नेपाल पत्रकार महासंघको केन्द्रदेखि जिल्लासम्मका सबै संयन्त्रहरूले कडा निगरानीसहित पहलकदमी बढाउनु पर्नेछ ।

नेपाल पत्रकार महासंघले नेपालमा हुने प्रेस स्वतन्त्रता हनन्का घटनाहरूको निरन्तर अनुगमन गर्दै आइरहेको छ । २०५६ सालदेखि महासंघले प्रेस स्वतन्त्रता हनन्का घटना अभिलेखीकरण गर्दै आएको छ । हाल महासंघमा यसका लागि छुट्टै सञ्चार अनुगमन इकाइको व्यवस्था गरिएको छ । यसै वर्षदेखि उक्त इकाइले प्रेस स्वतन्त्रता हनन्का घटना अभिलेखीकरणका लागि अनलाइन डाटाबेस तयार गरी सबै घटनालाई त्यहाँ रेकर्ड गर्ने गरेको छ, जुन डाटाबेस महासंघको वेबसाइटमा सबैले सजिलै हेर्न सकिने गरी राखिएको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा रहेको सञ्चार अनुगमन इकाइमा वर्षभरि अभिलेख गरिएका घटनाहरूलाई आधार मानी महासंघले प्रत्येक वर्ष प्रेस स्वतन्त्रताको अवस्थालाई समेटेर वार्षिक प्रतिवेदन प्रकाशित गर्ने गरेको छ । प्रत्येक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३, का दिन प्रतिवेदन सार्वजनिक गर्ने गरिएको छ । उक्त प्रतिवेदनका लागि घटनाहरूको अभिलेखीकरण र विश्लेषण गर्दा अघिल्लो वर्षको वैशाखदेखिका घटनाहरूलाई लिने गरिएको छ ।

प्रेस स्वतन्त्रता हननका घटना

नेपालमा मे ४, २०१७ देखि मे ३, २०१८ सम्म प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना भएका छन् । नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईमा दर्ता भएका घटनाहरूमा सबैभन्दा बढी पत्रकारमाथिको धम्की र दुर्व्यवहारका १९ वटा घटना भएका छन् भने पत्रकारमाथिको आक्रमणका १७ वटा र पत्रकार पक्राउका १६ वटा घटना भएका छन् ।

त्यसैगरी कब्जा, अपहरण र अवरोधका ६ घटना भएका छन् । त्यसैगरी नीतिगत अवरोधका ३ वटा घटना छन् भने पत्रकारलाई बेपत्ता पार्ने १ वटा घटना भएको छ ।

अघिल्लो वर्षको यही समयमा प्रेस स्वतन्त्रता हनन्का ७६ घटनाहरू भएका थिए । संख्यात्मक हिसावले हेर्दा यो वर्ष पत्रकार तथा सञ्चार क्षेत्रमा केही सुरक्षित देखिन्छ । यद्यपि प्रवृत्तिगत आधारमा भने प्रेस स्वतन्त्रता हनन्का साथै दण्डहीनता र सेल्फसेन्सरसीप कायमै रहेको अवस्था छ ।

नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना अहिलेको प्रमुख आवश्यकता हो । राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नुका साथै सोही नीति अनुरूप सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि पनि म नेपाल सरकार र सरोकारवाला पक्षमा आग्रह गर्दछु ।

नेपाल पत्रकार महासंघले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिबृद्धिका लागि केन्ऽ र प्रदेश स्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आमसञ्चार प्राधिकरण, विज्ञापन परिषद् जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनर्संरचना, विदेशी टेलिभिजन च्यानलमा क्लीनफिड नीति लागू गर्ने व्यवस्था, समानुपातिक विज्ञापन नीतिको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका मागहरू पूरा गर्न सरकारसहित सम्बन्धित निकायहरुमा म पुनः ध्यानाकर्षण गराउँदछु ।

प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा हैन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो । नेपालमा संवैधानिक दृष्टिले पहिलेभन्दा तुलनात्मकरूपमा अहिले प्रेस स्वतन्त्रताको संरक्षण गरिए पनि व्यवहारमा त्यस अनुरूप वातावरण बन्न सकेको छैन । एकातिर प्रेस आफै पनि मर्यादित हुन जरूरी छ भने राज्यले पनि स्वनियमको माध्यमबाट यसलाई संरक्षण, सम्वर्धन एवं विकासका निम्ति नीतिगत, कानुनी र संरचनागत क्षेत्रमा थुप्रै काम गर्न बाँकी छ । प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिई पत्रकारिताको विकासका साथै नेपाल र नेपाली जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा मिलोस्, विश्व प्रेस स्वतन्त्रता दिवस २०१८ को अवसरमा पुनः सबैमा हार्दिक बधाई तथा शुभकामना ।

Loading...