आईपीएलमा चेन्नेइको छैटौँ जित, दिल्लीको छैटौँ हार

काठमाडौं, १८ बैसाख ।

आईपीएल क्रिकेटमा चेन्नई सुपरकिंग्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले हराएको छ । पुणेमा भएको सोमबार रातिको खेलमा २ सय १२ रनको ठूलो लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९८ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ऋषभ पन्तले ७९ र विजय शंकरले नटआउट ५४ रन बनाए पनि टिमको जितका लागि पर्याप्त भएन ।

ऋषभले ४५ बलमा ७ चौका र ६ छक्कासहित ७९ रन बनाएका थिए । ७४ रन बनाउँदा ४ विकेट गुमाएको दिल्लीका लागि ऋषभ र विजयले पाँचौ विकेटका लागि ८८ रनको साझेदारी गर्दै टिमलाई जितको आशा देखाएका थिए । विजयले ३१ बलमा ५ छक्का र १ चौकासहित विष्फोटक ब्याटिङ गरेका थिए । उनी ५४ रनमा नटआउट रहे पनि टिमलाई जिताउन भने सकेनन् ।

१८ औँ ओभरको चौथो बलमा ऋषभ आउट हुँदा दिल्ली १ सय ६२ रन बनाएको अवस्थामा थियो । १९ औँ ओभरमा विजयले ३ छक्का प्रहार गर्दै टिमलाई जिताउने लक्षण देखाए । उनले ड्वेन ब्राभोलाई १९ औ ओभरमा अन्तिम तीन बलमा छक्कासहित ओभरबाट २१ रन बटुले ।

अन्तिम ओभरमा जितका लागि दिल्लीलाई २८ रन चाहिएको थियो । तर दिल्लीका ब्याट्स्म्यानले १४ रनमात्र जोड्न सकेपछि चेन्नई १३ रनले विजयी भयो ।

पहिले ब्याटिङ गरेको चेन्नइले शेन वाटसनको ७८ तथा कप्तान महेन्द्रसिंह धोनीको नटआउट ५१ रनको मद्दतमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । अम्बाती रायडुले ४१ रनको योगदान गरेका थिए । वाट्शनले ४० बलमा ७ छक्का र ४ चौकासहित ७८ रन बनाए भने कप्तान धोनीले मात्र २२ बलमा ५ छक्का र २ चौकासहित नटआउट ५१ रन बनाए । २४ बलबाट ४१ रन जोड्ने क्रममा रायडुले ५ चौका र १ छक्का प्रहार गरेका थिए ।

जितसँगै ८ मध्ये ६ खेल जितेको चेन्नइ अंकतालिकाको पहिलो स्थानमा उक्लिएको छ । ८ मध्ये ६ खेल हारेको दिल्ली भने पुछारमा छ ।

Loading...