रोमामाथि प्रभावशाली जित निकाल्दै लिभरपुल फाइनल नजिक

काठमाडौं, १२ बैसाख । च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इङ्लिस क्लब लिभरपुलले रोमामाथि सनसनीपूर्ण जित दर्ता गरेको छ।

गएराति घरेलु मैदान एनफिल्डमा भएको सेमिफाइनलको पहिलो लेगको भिडन्तमा लिभरपुलले इटालियन क्लब एएस रोमालाई ५–२ ले हराउँदै फाइनल यात्रा करिब-करिब पक्का गरेको हो।

लिभरपुलको फराकिलो जितमा केही दिनअघि मात्रै पीएफए प्लेयर अफ दि इयर भएका इजिप्टका मोहम्मद सलाहले २ र ब्राजिलिय स्ट्राइकर रोबर्टो फिरमिन्हिोले पनि २ तथा साडिओ मानेले एक गोल गरे। रोमाका लागि इडेन डिजेको र डिएगो पेरोट्टीले एक एक गोल गरे ।

पहिलो हाफमा सालहले गरेको दुई गोलबाटै जर्गेन कोलोप्पको टिम लिभरपुलले २–० को अग्रता लियो । लिभरपुललाई फाइनल नजिक पुर्‍याउने क्रममा सलाहले खेलको ३६ र ४५ औँ मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा २-० ले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल थप्यो।

खेलको ५६औं मिनेटमा स्याडियो मानेले तेस्रो गोल थपे। अन्य दुई गोल फिरमिन्होले गरेका थिए। उनले खेलको ६२ र ६९ औँ मिनेटमा गोल गरेपछि लिभरपुलको फाइनल यात्रा लगभग तय भएको छ ।

रोमाले अन्तिम समयमा खेलमा फर्कने प्रयास गर्‍यो। उसका लागि म्यानचेस्टर सिटीका पूर्वस्ट्राइकर एडिन जेकोले ८१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि पेरोट्टीले खेलको ८४ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै लिभरपुलको अग्रता ५–२ मा झारेका थिए।

त्यसपछि दुवै टोली गोल गर्न असफल रहँदा घरमै लिभरपुलले बार्सिलोनालाई हराउँदै सेमिफाइनलमा पुगेको रोमामाथि गतिलो जित दर्ता गर्‍यो।

पछिल्लो पटक ११ वर्षअघि सन् २००७ मा च्याम्पियन्स लिगको फाइनलमा पुगेको लिभरपुलका लागि यो सिजन फाइनल यात्रा तय गर्ने सम्भावना बढेर गएको छ।

पहिलो लेगमा पराजित भए पनि दोस्रो लेगमा रोमाले फराकिलो जित निकाल्न सक्छ। किनकि, यसअघिको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोनासँग ४–१ ले पराजित भएको रोमाले दोस्रो लेगमा ३–० को जित निकाल्दै अवे गोलका आधारमा सेमिफाइनलमा आएको हो।

Loading...