आज तेह्रौँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

काठमाडौं, ११ बैसाख ।

आज वैशाख ११ गते, लोकतन्त्र दिवसको सम्झना गरिँदैछ । २०६२/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाईँदैछ ।

२०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । जनआन्दोलनमा कमाण्डर समेत रहेका नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो ।

संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो । वैशाख ११ गतेको जगमा देशमा ठूला परिवर्तन भएपनि यो दिन बिरानो बन्दै गएको छ । यो विशेष दिनलाई सरकार र राजनीतिक दलले पनि बिर्सिएको भान हुन थालेको छ ।

परिवर्तनलाई संस्थागत गर्ने र व्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुक्दा नागरिकका सपना अझै पूरा हुन सकेका छैनन् । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक दलका नेतालाई नजरबन्दमा राखेर शासन सत्ता आफ्नो हातमा लिएपछि दुई ध्रुवमा रहेका संसद्वादी दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो ।

दुई शक्तिका बीचमा भएको यो समझदारीलाई वैशाख ११ गतेले नै अनुमोदन गरेको थियो । नयाँ संविधान अनुसार तीनै तहको चुनाव भैसकेकाल अब देशमा स्थायीत्व र विकास हुने नागरिकको अपेक्षा छ

Loading...