चर्या नृत्य सम्बन्धि कार्यशाला ललितपुरमा सम्पन्न

        

 नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाबाट आयोजना भइरहेको चर्या नृत्य सम्बन्धि कार्यशाला गोष्ठीको आज औपचारीक समापन भएको छ ।
शाखाले आज लतिलपुरमा एक कार्यक्रमको आयोजना गरी गत वैसाख २ गतेबाट शुरु भएको कार्यशाला गोष्ठीको औपचारीक समापन गरेको हो । कार्यक्रममा बोल्दै चर्या नृत्य प्रशिक्षक प्रज्वलरत्न बज्राचार्यले नृत्यकारहरुले चर्याको साथमा हरेक नृत्यको हावभाव कण्ठ गरी नाच्ने नगरी त्यसको अर्थ समेत बुझ्नुपर्ने बताउनुभयो । चर्या नृत्य, साधारण नृत्य मात्र नभई जीवन दर्शन नै भएको बज्राचार्यको भनाई थियो । नृत्यका मुद्राको अर्थ पनि बुझेर नाच्ने गरेमा त्यसबाट स्वस्थ्य जीवनको शिक्षा पनि समाजलाई दिनसकिने बज्राचार्यको भनाई थियो । त्यसैगरी संघका केन्द्रीय उपाध्यक्ष संजय शर्मा राजोपाध्यायले सनातनी हिन्दु समाजभित्र पनि चर्या नृत्यको पुनर्जागरण गर्नुपर्नेमा जोड दिनुभयो । उपाध्यक्ष राजोपाध्यायले विगतमा हिन्दु समुदायभित्र पनि चर्या नृत्यको चलन रहेको तर हाल आएर लोप भएको बताउनुभयो । हिन्दु समुदायमा चर्याको पुनर्जागरणको लागी राजोपाध्यायको साथमा जोशी र कर्माचार्य पनि सक्रिय हुनुपर्ने उपाध्यक्ष राजोपाध्यायको भनाई थियो । अक्षयश्वर महाविहार संरक्षण समितिका अध्यक्ष राजेश शाक्य र ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्यले कला र कलाकारीता क्षेत्रको समग्र विकासका लागी आफुहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा गोष्ठीका सहभागीहरुलाई ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्यले प्रमाण पत्र प्रदान गर्नुभयो । सोही कार्यक्रममा कार्यशाला आयोजना गर्न सहयोग गर्ने अक्षयश्वर महाविहार, प्रशिक्षक प्रज्वलरत्न बज्राचार्यलाई संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले कृतज्ञता पत्र प्रदान गर्नुभयो । सोही कार्यक्रममा कलाकार रीता व्यन्जनकारले चर्या नृत्य पनि प्रस्तुत गर्नुभएको थियो ।
वैसाख २ गतेबाट ललितपुरको अक्षयश्वर महाविहारमा संचालन भएको कार्यशाला गोष्ठीमा २७ जनाको सहभागीता रहेको थियो । पाँच दिने गोष्ठीमा प्रशिक्षक प्रज्वलरत्न बज्राचार्यले चर्या नृत्य र यसका विभिन्न मुद्राहरुको सैद्धान्तिक र व्यवहारीक अर्थको व्याख्या गर्नुभएको थियो । प्रशिक्षक बज्राचार्य हाल अमेरीकामा रहेर चर्या नृत्य प्रशिक्षण दिनुका साथमा देशविदेशमा आयोजना हुने विभन्न कार्यक्रममा चर्या नृत्य प्रस्तुत गर्दै आएनुभएको छ । विश्व नेवाः सम्मेलनमा सहभागी हुन बज्राचार्य नेपाल पुग्नुभएको अवसर पारेर संघले कार्यशालाको आयोजना गरेको थियो ।

Loading...