वीरगञ्ज महानगरपालिका र नारायणी यातायात कार्यालयमा शक्तिशाली बम, कर्मचारीको भागाभाग

काठमाडौं, ६ बैसाख । वीरगञ्ज महानगरपालिकाको कार्यालयमा बम भेटिएपछि कर्मचारीहरुको भागाभाग परेको छ ।

महानगर प्रमखु विजय सरावगीको कार्यकक्षभन्दा बाहिर रहेको भर्‍याङ छेउमा बम फेला परेको हो । रातो कपडाले बेरेर डल्लो पारिएको जस्तो वस्तु फेला परेपछि आतङ्कित भएर कर्मचारीहरुको भागाभाग परेको प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई जानकारी दिएका छन् ।

बम भेटिएपछि कर्मचारीहरुले बाहिर निस्केर प्रहरीलाई खबर गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निक्रिय पारेको थियो ।

त्यस्तै बिहिबार नै उता नारायणी यातायात कार्यालय परिसरमा पनि बम भेटिएको छ । गेटको भित्रपट्टि कार्यालय छेउमा बम देखेपछि कर्मचारीहरु तर्सिएर भागेका थिए । उक्त बम समेत नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निक्रिय पारेको छ ।

बम कसले र किन राखेको हो भन्ने बारेमा केहि पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । घटनामा संग्लनहरुको खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Loading...