१५ जनाको ज्यान लिने चितवनको ‘ध्रुबे हात्ती’ भेटियो

चितवन, २ बैशाख । चितवन राष्ट्रिय निकुञ्जमा अातंक मच्चाएर एकाएक गायव भएकाे ध्रुवे हात्ती पाँच वर्षपछि भेटिएकाे छ । १५ जनाकाे ज्यान लिएकाे ध्रुवे हात्ती पाँच वर्षयता कतै देखिएकाे थिएन । आतंकको पर्याय नै बनेको ‘ध्रुबे’ नामको जंगली भाले हात्ती आइतबार बिहान निकुञ्जको सुखिभार क्षेत्रमा भेटिएकाे हाे । तर, यसपटक ध्रुवे पहिलाे जस्ताे हिंस्रक नभएकाे निकुञ्जले जनाएकाे छ । शान्त स्वभावमा ध्रुवे हात्ती देखिएकाे निकुञ्जले जनाएकाे छ ।

निकुञ्जको पश्चिम क्षेत्र सुखिभार जंगलमा आइतबार बिहान देखा पर्दा ‘ध्रुबे’ आफ्नो पहिलेको स्वभावभन्दा विपरीत पाइएकाे निकुञ्जले जनाएकाे छ । हराएको झण्डै पाँच वर्षपछि भेटिएपछि निकुञ्जले पत्रकारहरु बाेलाएर सुखिभार जंगलमा देखाएकाे थियाे ।

निकुञ्जको सुखिभार पोष्टमा सिक्रिले बाँधेको पोथी हात्तीलाई सँगै लैजान उसले एक महिनादेखि दाउ हेर्दै आएको थियो । सुखिभार पोष्टमा दुईवटा हात्ती छन् । एउटा भाले हात्ती छ जसको नाम पारसगज हो । अर्को पोथी हात्ती तिर्थमानकली छ । सुखिभार पोष्टका माहुते राजेश सिंहका अनुसार ‘ध्रुबे’ एक महिना अघिदेखि पोथी हात्ती तिर्थमानकलीसँग नजिक हुँदै थियो ।

‘शनिबार राति आएर अलि उत्पात मच्चायो । पोष्टको भाले हात्ती पारसगजलाई पनि हानेर घाउ बनाएको छ । पोथी तीर्थमानकलीको सिक्री नै चुडाएर सँगै लिएर गएको हो’ माहुते राजेशले भने । पोष्टभन्दा लगभग एक किलोमिटर पर घोलसँगैको झाडीभित्र आइतबार बिहान देखिँदा ‘ध्रुबे’ र तीर्थमानकली सँगसँगै थिए । तर माहुतेलाई यसको मेसो थिएन ।

‘म त भित्रै जंगलमा लगेको होला भन्दै थिए । नजिकै रहेछ । अब एक दुई दिनपछि फर्केर आउँला’ माहुते राजेशले भने ।

पोथीसँग बसेपछि भाले हात्ती आक्रमक हुन छाड्छन् । चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार निकुञ्जमा ३१ पोथी र २७ भाले हात्ती छन् । तर धेरै जसो पोथी हात्तीको गर्भाधान जंगली भाले हात्तीबाटै हुन्छ ।

पश्चिम क्षेत्रमा ध्रुबे र पुर्वी क्षेत्रमा रोनाल्डो नामको जंगली भाले हात्तीबाट निकुञ्जका धेरै पोथी हात्तीलाई गर्भधान हुने गरेको छ । भाले हात्तीहरु पोथी हात्तीसँग यौन संसर्ग गर्न नपाउँदा आक्रमक हुने माहुतेहरुको अनुभव छ । ‘पोथी हात्तीसँग बस्न रमाउन पाएपछि अब ध्रुबे त्यस्तो खतारनाक हुँदैन । त्यही भएर मैले बिहान पोष्टको भाले हात्ती चराउन हिँडेको छु’ माहुते राजेशले भने ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल हराएको ध्रुबे हात्ती फर्केको बताउँछन् । ‘तर अहिले उ पहिलेको जस्तो आक्रमक र हिंस्रक भने छैन’ भन्छन् उनी । ध्रुबे हात्ती २०६९ सालको हिउँदमा निकै आक्रमक भएर निस्केको थियो । उसले त्यो वर्षको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चारजनाको ज्यान लिएको थियो ।

वि.सं. २०६६ साल माघदेखि मान्छेलाई आक्रमण गरेर ज्यान लिन थालेको उसले तीन वर्षमा १५ जनालाई मारेपछि चितवन र खास गरेर माडीको अवस्था आतंकपूर्ण थियो । ०६९ सालको पुस १ गते बसेको चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो ।

त्यसपछि हात्ती नियन्त्रणमा लिन निरञ्तर दुई हप्तासम्म टोली जंगलमा परिचालित भयो । हात्ती नियन्त्रणमा लिन त्यो बेला १८ वटा घरेलु हात्ती, ४० जना निकुञ्जका कर्मचारी, सेनाको ३२ जनाको विशेष टोली र राष्ट्रिय प्रकृति संरक्षण कोषका सातजना कर्मचारी खटिएका थिए । त्यसपछि हात्तीलाई डार्ट (बेहोस) गराएर रेडियो कलर राख्नुका साथै उत्तेजना कम हुनका लागि माद रोकिने औषधि दिइएको थियो । हात्तीको घाँटीमा बाँधेको रेडियो कलर सोही वर्षको माघ २४ मा पर्सा जिल्लाको निर्मलवस्ती नजिक जंगलमा भेटिएको थियो । त्यसअघि नै पुस १५ गतेदेखि नै हात्ती सम्पर्कविहीन भएको थियो ।

‘पाँच वर्षअघि एकाएक हराएको सो हात्ती दुई तीन वर्षयता फेरि देखिएको छ । तर पहिलाको जस्तो कुनै आवेग र हिंस्रक स्वभाव खासै छैन’ चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले भने । हात्ती राम्रो स्मरण शक्ति भएको र विवेक पनि प्रयोग गर्न सकिने जंगली जनावर हो । मान्छे मार्दै जाँदा हेलिकप्टर समेतले पिछा गरेपछि अब मान्छेमाथि जाइलाग्नु हुँदैन भनेर हात्तीले सोचेको पनि हुन सक्ने त्यो बेला ध्रुबे नियन्त्रणमा खटेका एकजना अधिकारीले बताए ।

Loading...