एसियन गेम्स ‘फन रन’मंगलबार बाट

                      

चैत २६,काठमाडौँ / अठारौँ एसियाली खेलकुद अघि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र एसियाली खेलकुदको आयोजक मुलुक इण्डोनेसियाको आयोजनामा भइरहेको फन रन नेपालमा मंगलबार हुने भएको छ ।

फन रन एसियाली खेलकुद अघि ४५ देशमा आयोजना गरिनेछ । यसअघि श्रीलंका, भुटानमा यस्ता फन रन सम्पन्न भइसकेको छ । मंगलबार बिहान ७ बजेदेखि फन रन सुरु हुनेछ । नेपाल ओलम्पिक कमिटीको भवनबाट सुरु हुने रन सातदोबाटो, लगनखेल, पुल्चोक लबिम मल हुँदै मंगलबजार, सुन्धारा, सिञ्चाहिटीबाट ओलम्पिक कमिटीको कार्यालयमा पुगेर समापन हुनेछ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फन रनको आयोजना अधिकार नेपाललाई पनि दिएकोमा आईओसीलाई धन्यवाद दिँदै छोटो समयको तयारीका बाबजुद फन रन भव्य बनाइने प्रतिबद्धता व्यक्त गरे ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रतिनिधि विस्साम तर्कमानीले विशेष गरी फिजिकल फिटनेसबारे सबैलाई जानकारी गराउनका लागि यस्ताखाले फन रन आयोजना गरिएको जानकारी दिइन् ।

नेपाल ओलम्पिक कमिटीले रनका लागि एशियाली खेलकुदमा सहभागिता जनाउने सबै खेलका खेलाडीलाई अनिबार्य गरेको छ भने खुला सहभागिता भएकाले जो कोहीले पनि सहभागिता जनाउन सक्ने बताएको छ । ओलम्पिक कमिटीले फन रनमा १ हजारभन्दा बढीको सहभागिता रहने अनुमान गरेको छ ।

Loading...