कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालसम्म स्थगित

काठमाडौं, १८ चैत ।

निर्वाचन समीक्षा गर्न भन्दै यही चैत ९ गतेबाट जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित हुने भएको छ  । कांग्रेस नेता खुमबहादुर खड्काको निधनको शोकमा केन्द्रीय समिति बैठक अनिश्चितकालका स्थगित हुन लागेको हाे ।

आइतबार बिहान ११ बजे बस्ने बैठकमा खड्काको निधनमा शोक प्रस्ताव मात्र पारित हुनेछ र अर्को सूचना जारी नभएसम्मका लागि स्थगित हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । निर्वाचन समीक्षाको क्रममा हालसम्म ४३ जना केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका खड्काको गत शुक्रबार दिल्लीको एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको पार्थिव शरीरलाई शनिबार राति सानेपास्थित निवासमा ल्याइएको थियो । आइतबार बिहान ९ बजेपछि पार्टी केन्द्रीय कार्यालयमा राख्ने र ३ बजे अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा लगिने नेपाली कांग्रेसले जनाएको छ ।

Loading...