पर्बतमा मकै रोप्ने (सिडर) मेसिन भित्रियो

पर्वत, १५ चैत ।

पर्वत जिल्लामै पहिलोपटक मकै रोप्ने (सिडर) मेसिन भित्रिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा वडा नं १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन एकाई कार्यालय मुडिकुवाले तीनवटा मेसिन अनुदानमा वितरण गरको हो ।

कार्यालयले मिनी पावरटिलर र त्यसमै जडान गर्न मिल्नेगरी निर्मित मकै रोप्ने (सिडर), छोडाउने (कन्सेलर) र खोल्स्याउने मेसिन किसान समूहलाई वितरण गरेको हो । बारीमा पावरटिलरले जोत्दै मकै रोप्ने यो मेसिन जिल्लामै पहिलोपटक भित्रिएको हो ।

कार्यालयमा बुधवार आयोजित कार्यक्रममा फलेवासको वडा नं १ कार्कीनेटाको अन्नपूर्ण दुग्ध सहकारी संस्था, शंकरपोखरीको शिवशंकर कफी सहकारी र मुडिकुवाको तल्लो सेराफाँट कृषक समूहलाई मेसिन हस्तान्तरण गरिएको हो । रु ६५ हजार पर्ने मिनी पावरटिलरमा जडित मेसिनले प्रतिदिन ६ देखि ७ रोपनी बारीमा मकै रोप्न मिल्ने वरिष्ठ कृषि अधिकृत बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

मकै जोन कार्यालयले पाइलट प्रोजेक्टका रूपमा न्यूनतम २० रोपनी जमिनमा अनिवार्य मकै लगाउने समूहलाई मेसिनसहितको हलो वितरण गरेको छ । समूहमा आवद्ध किसानलाई कार्यालयले चालू वर्ष २० रोपनीका लागि आवश्यक मकै बीउ, मल र आवस्यक परे विषादीसमेत अनुदान दिने कार्यक्रम छ ।

Loading...