राष्ट्रपति भण्डारी बग्गीमा चढेर सम्मेलन केन्द्र जाने, संघीय संसदलाई पहिलो सम्बोधन !

काठमाडौं, १५ चैत ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद लाई आज पहिलो सम्बोधन गर्दै छिन् । सांसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे सुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन् ।

संघीय संसदको पहिलो अधिवेशनमा दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोहि व्यवस्थाअनुसार राष्ट्रपतिको संवोधन हुन लागेको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठक २१ फागुनमा बसेको थियो । २९ फागुनमा भण्डारी दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ सांसदलाई राष्ट्रपति भण्डारीले संवोधन गर्न लागेकी हुन् । सवोधनको लागि भण्डारी बग्गीमा चडेर संसद् भवन नयाँ बानेश्वर जाने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार राष्ट्रपति भण्डारी सम्मेलन केन्द्रमा घोडाको बग्गीमा चढेर प्रवेश गर्नेछिन् ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गर्ने तयारी भएको संसद् सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले जानकरी दिए । राष्ट्रपतिको सम्बोधनको ब्यहोरा मन्त्रिपरिषद बैठकले अनुमोदन गरि राष्ट्रपति कार्यालयमा बुझाइसकेको छ ।

Loading...