दशैं विदा घट्यो, पृथ्वी जयन्ती विदा फेरि खारेज, कुन-कुन सार्वजजिक विदा काटिए ? (सूचीसहित)

काठमाडौं, १५ चैत ।

सरकारले सार्वजनिक विदा कटौति गरेको छ। आउँदो साल जम्मा ८९ दिनमात्र सार्वजनिक विदा दिने छ। ६७ दिन सबैका लागि विदा र २२ दिन विभिन्न धार्मिक र सांस्कृतिक विदा दिने बुधवार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो।

अब हरेक देशको राष्ट्रिय दिवस (नेशनल डे) भएजस्तै नेपालको पनि असोज ३ गते राष्ट्रिय दिवस कायम भएको छ । बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको हो ।

यसअघि पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ लाई राष्ट्रिय एकताका दिवसका रुपमा मनाउने गरिन्थ्यो । तर, जनआन्दोलन २०६२/६३ पछि राष्ट्रिय एकता दिवस मनाउन छाडियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले यस वर्ष पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै सार्वजनिक विदा दिएको थियो । तर, केपी ओली नेतृत्वको वामपन्थी सरकारले अब मुलुकको राष्ट्रिय दिवस असोज ३ लाई मान्ने निर्णय गरेको हो ।

कतिपयले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई राष्ट्रिय दिवस मनाउनुपर्ने प्रस्ताव राखेका थिए । तर, गणतन्त्रलगायत सबै परिवर्तनलाई संविधानले संस्थागत गरेकाले असोज ३ राष्ट्रिय दिवस हुने निर्णय भएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए । असोज ३ नेपालको राष्ट्रिय दिवस भए पनि अन्य दिवसहरु पनि मनाइनेछन् । तर, सार्वजनिक विदा भने असोज ३ मा मात्र दिइनेछ ।

यसबाहेक राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७, लोकतन्त्र दिवस बैशाख ११, गणतन्त्र दिवस जेठ १५, शहीद दिवस माघ १६ र राष्ट्रिय एकता दिवस पुस २७ आ-आफ्नो हिसाबले मनाइनेछन् । तर त्यस दिन सार्वजनिक विदा दिइने छैन ।

मन्त्रिपरिषदको निर्णयबारे प्रष्ट पार्दै राज्यमन्त्री बास्कोटाले भने, ‘दिवस र पर्वहरु आआफ्नो ढंगले मनाउने तर, सार्वजनिक विदा कटौति गर्ने नीतिअनुसार असोज ३ लाई राष्ट्रिय पर्व बनाइएको हो ।’

दशैं विदा तीन दिन थप कटौति गरिएको छ । अब घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा सार्वजनिक विदा हुने छैन । दशैं विदा फूलपातिदेखि एकादशीसम्म पाँच दिनमात्र हुनेछ ।  मन्त्रिपरिषद बैठकले कुनै जाति, समुदाय, धर्म या भेग विशेषको चाडबाड र संस्कृतिका आधारमा राष्ट्रव्यापी बिदा दिने परम्पराको अन्त्य गरेको हो । अब ल्होसार, क्रिसमस, छठ, माघीजस्ता बिदा सम्बन्धित समुदाय, धर्मावलम्बी या भेग विशेषलाई मात्र दिइनेछ।

कटौती गरिएका बिदाहरू
गणतन्त्र दिवस, लोकतन्त्र दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस छन्। अब लोकतन्त्रका नाममा संविधान दिवसमा मात्र सार्वजनिक बिदा दिइने मन्त्रिपरिषदले निर्णय गरेको छ।

संविधान दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाइनेछ । अब संविधान दिवसबाहेक अरू दिवसमा समारोह हुन्छ, तर सार्वजनिक बिदा नहुने मन्त्रिपरिषदले निर्णय गरेको छ।

त्यसैगरी रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमीका दिन दिइँदै आएको बिदासमेत कटौती गरिएको छ ।

नेपाल चेम्वर अफ कमर्सले गर्यो स्वागत

नेपाल चेम्वर अफ कमर्सले सरकारले सार्वजनिक विदा कटौती गरेकोमा खुशी व्यक्त गरेको छ । चेम्वरले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी सरकारले सराहनीय कार्य गरेको भन्दै धन्यबाद व्यक्त गरेको छ ।

‘हामीले निरन्तर राख्दै आएको मागको सुनुवाई गरी विदा कटौती गरेकोमा हामी सरकारप्रति आभार व्यक्त गर्दछौ’ं, चेम्बरद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । वढी सार्वजनिक विदाका कारण मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पारेको भन्दै चेम्वरले विदा कटौती गर्न सरकारसँंग निरन्तर माग राख्दै आएको थियो ।

प्रधानमन्त्री, मन्त्रीलगायतका उच्चपदस्थ सरकारी अधिकारीहरुसँंगको भेटघाटमा चेम्वरले यो माग राख्दै आएको थियो । साथै चेम्वरले सार्वजनिक विदाहरुमा बैंक तथा वितीय संस्थाहरु सञ्चालनको माग पनि राख्दै आएको थियो । सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरी विदा कटौती गरेको हो ।

मन्त्रिपरिषद्को बुधवार साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको थियो ।

Loading...