नेकपाका नुवाकोट जनपरिषद् प्रमुख अपहरण शैलीमा गिरफ्तार !

दिया चन्द, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नुवाकोट जनपरिषद प्रमुख ‘बिन्तोष सिलवाल’ अशोक गिरफ्तार परेका छन् । बुधबार पत्रकार सम्मेलनस्थलबाटै उनलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको नेकपा नुवाकोटले जानकारी दिएको छ।

विदुर नगरपालिका–२ बट्टारमा पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन स्थलबाट नै प्रमुख आशोकलाई प्रहरीले अपहरणकारी शैलीमा घेराबन्दी हालेर नियन्त्रणमा लिएको बताईएको छ ।

नेकपाको ताम्सालिङ्ग स्वायत्त प्रदेशको आयोजनमा पत्रकार सम्मेलन भइरहेकाे समयमा एकाएक पुगेकाे प्रहरीले उनलाई जबर्जस्ती घेरा हालेर नियन्त्रणमा लिएको त्यहाँबाट प्रत्यक्षदर्शी उषा तामाङले ननस्टपखबरलाई जानकारी दिएकी छिन । ‘तपाईलाई केहि कुरा सोध्नुछ एकछिन यता आउनुस न भन्दै अशोक जीलाई नियन्त्रणमा लियो ।’ तामाङले भनिन- ‘उनीहरुको प्लान त गिरफ्तार गर्ने पो रहेछ, भ्यानमा हालेर फटाफट लग्यो ।’

प्रहरीका एसपी भन्छन्: माैखिक धम्की अायाे

जनपरिषद प्रमुख अशोक गिरफ्तार परेकाेबारे जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसन्त बहादुर कुँवरले पुष्टी गरेका छन् । एसपी कुँवरले केहि लिखित र मौखिक उजुरीका आधारमा उनलाई नियन्त्रण लिएको बताए ।

‘हैन यिनीहरुले अलिकति सार्वजनिक शान्ति भाँडिने  गरी गाँउपालीका प्रमुख र मेयरहरूलार्इ पत्राचार गरेका छन् । राजिनामा देउ भनेर धम्काएका पनि छन, हैन ? त्यसहिसावले समातेको चाहिँ शान्ति भंग गरेको भनेर हो ।’  एसपी कुँवरले इमान्दार मिडियासँग भने, – ‘अरु यहाँ नुवाकोटमा अलिअलि १/२ वटा घटना भाथ्यो, एनसेल टावर पनि आगजनी भाथ्यो । त्यसमा पनि अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको हो हजुर ।’

एसपी कुँवरका अनुसार नेकपाले मेयर उपमेयर र गाँउपालीका प्रमुखहरूको राजीनामा मागेको मौखिक र केहि समय अगाडी एनसेल टावरमाथि आक्रमण भएको भन्ने लिखित उजुरीको आधारमा प्रमुख अशोक गिरफ्तार परेका हुन् । तर जनपरिषद् प्रमुख अशोकको नाममा भने कुनै किटानी जाहेरी नभएको पनि एसपी कुँवरले प्रष्ट पारेका छन् ।

तपाईले भन्याजस्तो उहाँहरुले जनप्रतिनिधिहरुलाई धम्की दिएको भनेर कुनै उजुरी परेको छ ? भन्ने हाम्रो प्रश्नमा एसपी कुँवरले थपे- ‘अँ त्यो हिसावको उजुरी छैन, मान्छेहरु लिखित उजुरी दिन्नन । मौखिक किसिमका कुराहरु अाएका छन् । त्यसलाई सार्वजनिक अपराधको रुपमा हेरका छौं अहिलेसम्म ।’

एनसेल टावरमाथि आगजनी गरेको संबन्धमा जाहेरी भए पनि किटानी उजुरी भने अहिलेसम्म नपरेको पनि उनले प्रष्ट पारे । पछिल्लो समय ओली सरकारले दमन धरपकड र गिरफ्तारी बढाएपछि नेकपाले छुट्टै समानान्तर सत्ताको अभ्यास सुरु गरेको छ । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई गिरफ्तार गर्न भन्दै प्रहरीले प्रक्राउ पुर्जी नै जारी गरेपछि समानान्तर सत्ता झन् आक्रामक रुपम आएको राजनितिक विश्लेषकहरुको भनाइ छ ।

गत फागुनमा महासचिव विप्लवलाई ७ दिनभित्र पक्राउ गरेर ल्याउन भोजपुर जिल्ला अदालतले आदेश दिएको थियो । अदालतको उक्त अादेशपछि प्रहरीले कपिलबस्तुस्थित महासचिव विप्लवका दाजुको घरमा पक्राउ पुर्जी टाँस गरेको थियो  ।

यस्तो थियो ओली सरकारले महासचिव विप्लवको नाममा जारी गरेको वारेन्ट पत्र

माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री बनेपछि महासचिव विप्लवबिरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै केहि माओवादी नेताहरुले समेत सरकारको त्यो कदमको चर्को बिरोध गरेका थिए । भने सामाजिक सञ्जालसहित जताततै ब्यापक बिरोध भएको थियो । ओली सरकारले विप्लवबिरुद्ध पक्राउ पुर्जी जारी गरेपछि त्यसकाे बिराेधमा कपिलवस्तुबासीहरु सडकमै ओर्लिएका थिए । तर पनि नेकपा नेता कार्यकर्ताहरुमाथि प्रहरीले धरपकड झन् बढाएकाे छ ।

प्रहरीले गत चैत ५ गते नेकपाका कोशी ब्यूरो इन्चार्ज किरण राईलगाए थ्रुपै नेताहरुलाई गरिफ्तार गरी हिरासतमा राखेको छ । यसैबीच मंगलबारमात्रै नेकपा केन्द्रीय जनादलतले प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डको नाममा  १५ दिने वारेन्ट जारी गरेकाे छ । ओली र प्रचण्डबिरुद्ध जनअदालतमा मुद्दा परेको भन्दै छलफल गर्नुपर्ने थप बुझ्न पर्ने भएकोले १५ दिनभित्र रोल्पा आफै हाजिर हुन वारेन्ट पत्रमा भनिएको छ ।

पत्र पाएको वा सार्वजनिक स्थानमा सूचना टाँस भएको १५ दिनभित्र अनिवार्य पुग्न ताकेता गरिएको  छ ।  मंगलबार जारी गरिएको उक्त  पत्र बुधबार पचण्डकाे खुमलटारस्थित निवास र चितवनस्थित घर तथा उनको सम्पर्क कार्यालयमा समेत टासिएको छ । भने प्रधानमन्त्रीकाे भक्तपुरस्थित निजी निवास र सुकेधारास्थित पार्टी कार्यालयमा टाँसिएकाे छ ।

 

Loading...