क्रान्तिकारी विद्यार्थीहरुले सम्झौताहीन संघर्ष गर्ने, मन्त्रालय र विभाग बन्द गर्ने चेतावनी

काठमाडौं, १३ चैत । अखिल क्रान्तिकारीले शैक्षिक समस्याका विरुद्ध सम्झौताहीन संघर्ष सञ्चालन गर्ने जनाएको छ । दाङमा सम्पन्न राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्न आज मंगलबार दिउसो राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी क्रान्तिकारीले सो जानकारी दिएको हो । साथै क्रान्तिकारीले अब शैक्षिक स‌स्थामात्र नभर्इ शिक्षा मन्त्रालय र शिक्षा विभागहरु नै बन्द गर्नुपर्ने अवस्था अाएकाे बताएकाे छ । 

नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन फागुन २७ गते सुरु भइ ३० गते दाङको सदरमुकाम घोराहीमा सम्पन्न भएको थियो । सम्मेलनले चिरञ्जीवी ढकालको अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो । सम्मेलन पश्चात बसेको केन्द्रीय समितिको बैठकले उपाध्यक्षमा रुद्र भट्टराई, महासचिवमा प्रकाश शाही, सचिवमा सन्तोषी भट्टराई र कोषाध्यक्षमा नरेन्द्र बिकलाई चयन गरेको थियो ।

सम्मेलन र बैठकले लिएका निर्णय सार्वजनिक गर्दै नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी ढकालले विद्यार्थी आन्दोलन अब सम्झौताहीन संघर्षमा अगाडि बढ्ने बताए । उनले विगतमा विद्यार्थी संगठनहरुले बेला बेलामा आन्दोलन गर्ने र पटक पटक सम्झौतामा गएर टुङग्याउने गरेको तितो इतिहास रहेको बताउँदै अब आफूहरुले शिक्षा क्षेत्रमा रहेका तमाम विकृतिका विरुद्ध सम्झौताहीन संघर्ष अगाडि बढाउने निर्णय गरेको बताए । साथै विद्यार्थी अन्दोलनलाई अन्तिम निष्कर्षमा पुर्याएरै छाड्ने अठोट व्यक्त गरे ।

क्रान्तिकारीले शैक्षिक समस्या समाधानका लागि प्रथम चरणका कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसअनुसार चैत १४ गतेदेखि नै संघर्षको सुरुवात गरिने बताइएको छ । चैत २७ सम्म छलफल, अन्तरक्रिया र ज्ञापनपत्र बुझाउने जस्ता कार्यक्रम गर्ने र त्यसपछि चरणबद्ध संघर्षका कार्यक्रममा होमिने क्रान्तिकारीका अध्यक्ष ढकालले जानकारी दिए ।

पत्रकारहरुकाे एक प्रश्नकाे जवाफ दिँदै अध्यक्ष ढकालले अब शैक्षिक संस्था मात्र नभर्इ शिक्षा मन्त्रालय र शिक्षा विभागहरु समेत बन्द गर्नुपर्ने अवस्था अाएकाे बताए । उनले विद्यार्थीका समस्या समाधान र समग्र शैक्षिक परिवर्तनका लागि सबै खालका संघर्षमा अाफ्नाे संगठन अगाडि बढ्ने दावी गरे । उनले भने, “अब स्कुल कलेज मात्रै बन्द गरिदैन । विद्यार्थीहरुको हितमा, अभिभावकको पक्षमा शान्तिपुर्ण आवाज उठाउदा हाम्रो कुरा सुनुवाइ भएन भने हामी शिक्षा मन्त्रालय र शिक्षा बिभाग बन्द गर्ने आन्दोलनको सिर्जना गर्छौ ।”

Loading...