प्रम ओली र प्रचण्डलार्इ १५ दिनभित्र जनअदालतमा हाजिर हुन नेकपाको वारेन्ट

काठमाडौं, १३ चैत । छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध वारेन्ट जारी गरेको छ । दुई नेताका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको छ । प्रधानमन्त्री केपी अाेलीका विरुद्ध जारी गरिएकाे वारेन्ट पत्र अाजै प्रधानमन्त्रीकाे भक्तपुरस्थित निजी निवास र सुकेधारा स्थित पार्टी कार्यालयमा टाँसिएकाे छ । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले रोल्पामा रहेको केन्द्रीय जनअदालतमा उपस्थित हुन दुबै नेतालाई भनेको छ । उक्त वारेन्ट केन्द्रीय जनआदलतका प्रमुख प्रकाशको नामबाट जारी गरिएको छ । उक्त पुर्जी जनअदालतले प्रधानमन्त्री ओली र प्रचण्डको निवासमा टाँस गरिएको पनि जनाएको छ । आज जारी गरिएको वारेन्टपत्रमा भनिएको छ, “…..का विरुद्धमा केन्द्रीय जनअदालत, रोल्पामा निम्न उल्लेखित मुद्दाहरु परेको हुँदा सो सम्बन्धममा आवश्यक अनुसन्धान भइरहेको र तपाईसमेतलाई बुझ्नु पर्ने भएकोले यो सुचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सूचित गरिन्छ । तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनुसार हुने कुराको जानकारी समेत गराइन्छ ।” वारेन्टमा १५ दिनभित्र हाजिर नभएमा जनपरिषद नेपालकाे नीति नियम अनुसार हुने चेतावनी पनि दिइएकाे छ । 

वारेन्टपत्रमा प्रचण्ड र ओलीका विरुद्ध परेको मुद्दाको जानकारी पनि दिइएको छ । दुबै नेताका विरुद्धमा फरक फरक मुद्दा परेको जनअदालतले जनाएको छ । वारेन्ट पत्रमा अनुसार प्रधानमन्त्री ओलीले २०७४ फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जनस्वयमंसेवकको सार्वजनिक कार्यक्रममा मोरङ विराटनगरतर्फ जाँदै गर्दा नेकपाका नेताहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’ एवं पदम राई र पार्टी सम्बद्ध थुप्रै युवाहरुलाई विराटनगरमा गिरफ्तार गरी, झुट्ठा मुद्दा लगाएको र २०७४ चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरणराईलगायत थुप्रै नेताहरुलाई बिनाकारण गिरफ्तार गरी धनकुटामा थुनामा राखेको भन्दै त्यसका विरुद्धमा मुद्दा परेको बताइएको छ ।

त्यसैगरी प्रचण्डका विरुद्ध जारी गरिएको वारेन्ट पत्रमा “महान जनयुद्धको शान्ति प्रक्रियामा आएपछि क्रान्तिप्रति विश्वासघात गरेको, हतियार दुस्मनलाई बुझाएको र जनमुक्ति सेनालाई विगठन गरेको । माथिल्लो कर्णाली विद्युत आयोजना, अरुण तेस्रोलगायत विभिन्न सम्झौता भारतीय कम्पनीहरुसँग गर्ने गराउने कार्यमा संलग्न रही र राष्ट्रहित विरुद्ध कार्य गरेको, कथित स्थानीय निकायको चुनावमा कालीकोट जिल्लाको माल्कोटमा स्थानीय धनरुप बटाला र कैलालीका चन्द्रबहादुर सिंह ‘सन्राइज’समेतको हत्यामा गोली चलाउन आदेश दिनु भन्ने निर्देशन गरेको । २०७४ चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरणराईलगायत थुप्रै नेताहरुलाई बिनाकारण गिरफ्तार गरी थुनामा राखेको” भन्दै त्यसका विरुद्ध मुद्दा परेको बताइएको छ ।

यसअघि सरकारले पनि नेपकाका महासचिव विप्लव र अन्य नेताहरुका नाममा पक्राउ पुर्जी जारी गरेकाे थियाे । 

यस्ताे छ प्रधानमन्त्री केपी शर्मा अाेलीका विरुद्ध जारी गरिएकाे वारेन्ट

 

प्रचण्डका विरुद्धमा टाँस गरिएकाे वारेन्ट

Loading...