प्रतिष्ठाका लागि नेपाल र यमन भिड्दै

काठमाडौं, १३ चैत ।

एएफसी एसियन कप फुटबल छनोट चरणको अन्तिम खेलमा मंगलबार नेपालले यमनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ बजे तटस्थ मैदान कतारको दोहास्थित सुहिम बिन हमाद रंगशालामा हुनेछ ।

यमनमा आन्तरिक हिंसा जारी रहेकाले उसको मैदानमा हुनुपर्ने सबै खेलहरु तटस्थ मैदानमा आयोजना गरिँद आएको छ । समूह ‘एफ’अन्तर्गत्को यो खेल नेपालको लागि औपचारिकतामात्रै हुनेछ । एसियन कपका लागि छनोट हुने सम्भावना सकिएकाले यो खेल नेपालका लागि प्रतिष्ठाको लडाइँमात्रै बनेको छ ।

नेपाल समूहमा आफ्नो पहिलो जितको पर्खाइमा रहेको छ । अर्कोतर्फ नेपाललाई पराजित गर्दै यमन एएफसी एसियन कपमा आफ्नो स्थान सुनिश्चित गर्न चाहन्छ । नेपालले समूहको पहिलो खेलमा फिलिपिन्ससँग ४–१ को हार व्यहोरेको थियो ।

दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको नेपाल तेस्रो खेलमा ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो । चौथो खेलमा फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको नेपाल पाँचौं खेलमा भने ताजिकिस्तानसँग ३–० ले स्तब्ध भएको थियो ।

नेपालकै समूहमा रहेको फिलिपिन्स ९ अंकका साथ शीर्ष स्थानमा छ भने यमन ७ अंकसहित दोस्रो तथा समान ७ अंक जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । दुई अंकमात्र जोडेको नेपाल अंकतालिकाको पुछारमा छ ।

Loading...