उत्तर कोरियाबारे ओबामाको ताजा धारणा बाहिरियो

काठमाडौं, ११ चैत ।

उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले बताएका छन् । उनले भने–‘उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने गरिरहेको छ, यो एसियाका लागिमात्र नभएर संसारकै लागि एउटा ठूलो त्रास बनेको छ ।’

जापानको भ्रमणमा रहेका पूर्वराष्ट्रपति ओबामाले आइतबार राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा सो धारणा राखेका हुन् । ‘हामीले अहिलेपनि उसका आणविक कार्यक्रमहरु र धम्कीकाबारेमा सुनेका छौं तरपनि यसको समाधानका लागि कुनै पहल गरेको सुनेका छैनौं’–उनले भने ।

राष्ट्रपति ओबामाले भने–‘उत्तर कोरियाले यस्तो प्रणालीको विकास गरिरहेको छ कि त्यसले विश्वलाई प्रतिदिन धम्कीमात्र दिइरहेको छ । तर, त्यस समस्या समाधानका लागि कुनै एक देशलेमात्र केही गर्नपनि सक्दैन ।’

ओबामा प्रशासनका बेलामा उत्तर कोरियालाई संसारबाटै एक्ल्याउने रणनीति अपनाइएको र उसमाथि आर्थिक नाकाबन्दी लगाइएको जानकारी पनि उनले दिए । यसबाट उत्तर कोरिया संसारबाटै एक्लिनेमात्र नभएर आर्थिकरुपमा पनि घुँडा टेक्ने र अन्त्यमा उसले सबै हातहतियार त्याग्ने अनुमान गरिएको उनले बताए ।

आइतबार पूर्वराष्ट्रपति ओबामा र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको थियो । त्यस अवसरमा दुई देशबीचको आर्थिक लगानी र सम्झौताका विषयमा छलफल भएको बताइएको छ ।

Loading...