एकतापछि कति सदस्यीय बन्दैछ एमाले-माओवादीको केन्द्रीय कमिटि ?

काठमाडौं, ११ चैत ।

एमाले–माओवादी पार्टी एकतापछि बन्ने पार्टीको सांगठनिक संरचनाबारे कतिपयमा सहमति जुटे पनि केही विषय छलफलमै छन् । नयाँ पत्रिकाका अनुसार एमाले–माओवादी पार्टी एकतालगत्तै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी भएको छ ।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि पुच्छर हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यदलमा समझदारी भएको छ । एमालेका २२ र माओवादीका २४ जनसंगठन छन् । समाचार अनुसार पार्टी एकतालगत्तै जनसंगठन एकीकरण गर्ने र पेसागत संगठनको एउटै महासंघ बनाउने विषयमा पनि मतैक्य देखिएका छन् ।

एकीकृत पार्टीको केन्द्रीय कमिटी ३ सयदेखि ३५० सदस्यीय बन्ने भएको छ । एमालेका २०६ र माओवादीका ९९ सदस्यलाई एकीकृत पार्टीमा समेट्ने विषयमा नेताहरुबीच अनौपचारिक छलफल भइरहेको समाचारमा उल्लेख छ । समाचार अनुसार पोलिटब्युरो १०० र स्थायी समिति ३५ हाराहारी बनाउने तयारी छ । प्रदेश र जिल्ला कमिटि भने ५० देखि १ सय १५ सम्मको हुने सम्भावना छ ।

प्रचण्डको नयाँ प्रस्ताव

अन्नपूर्ण पोस्ट दैनिकले प्रधानमन्त्री केपी ओलीले एमाले–माओवादी पार्टी एकता चैत २३ भित्रै गर्ने नयाँ प्रस्ताव गरेको समाचार छापेको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार बिहान छलफल गर्दै ओलीले आफ्नो भारत भ्रमणअगाडि नै एकता गर्न प्रस्ताव गरेको समाचारमा उल्लेख छ ।

‘प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको त्यस्तो प्रस्तावमा माओवादी अध्यक्ष प्रचण्डले पनि सकारात्मक जवाफ दिएका छन्’, अन्नपूर्णले आफ्नो समाचारमा लेखेको छ, ‘दुई अध्यक्षबीच संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएपछि केही बेर थप छलफलक्रममा ओलीको त्यस्तो प्रस्ताव आएको हो ।’

ओलीले ८ गते बिहीबार प्रचण्डसँगको भेटमा पनि आफ्नो भारत भ्रमणको मिति २३ देखि २५ सम्म तय भइसकेको र त्यसअगाडि नै सकभर एकताको काम टुंग्याएर भारत भ्रमणमा जान सकिए सकारात्मक सन्देश जाने भन्दै अनौपचारिक छलफल गरेका थिए । त्यसदिन दुई अध्यक्षबीच कार्यदलको तयारी र समयले भ्याउने देखिएमा छिटो टुंग्याएर जान सकिने विषयमा छलफल भएको दाबी अन्नपूर्णले गरेको छ ।

अन्नपूर्णका अनुसार, चैत २३ अघि नै पार्टी एकता गर्दा पनि एमाले आन्तरिक रूपमा तयारी अवस्थामा छ । तर, माओवादीको भने तयारी देखिँदैन । एमालेले पार्टी संगठनको सदस्य संख्या, कमिटीको आकार, नेता–कार्यकर्ताको कमिटीलगायत सबै चुस्त–दुरुस्त तथ्यांक तयारी अवस्थामा राखेको छ । तर माओवादीको अहिलेसम्म पनि सदस्य संख्या र पार्टी कमिटीको संख्यादेखि नेता–कार्यकर्ताको जिम्मेवारी कसको कहाँ भन्नेसम्मको तथ्यांक केन्द्रीय कार्यालयदेखि प्रदेश, जिल्ला तहसम्म पनि छैन ।

Loading...