दुई दशकदेखि ठप्प बलेवा विमानस्थलमा उडान सुरु, तारा एयरले गर्‍यो परीक्षण

पर्वत, ६ चैत ।

झन्डै साढे दुई दशकदेखि ठप्प रहेको बाग्लुङको बलेवा विमानस्थलमा परीक्षण उडान गरिएको छ । यही चैत ९ गतेदेखि नियमित सञ्चालनमा ल्याउने तयारीका लागि बलेवा बिमानस्थलमा तारा एयरले परीक्षण उडान गरेको हो ।

पोखरादेखि बलेवा विमानस्थलसम्म परीक्षण उडान गरेको तारा एयरले नियमित उडान गर्न कुनै कठिनाई नभएको बताएको छ । पाईलट क्याप्टेन सन्जीव श्रेष्ठ, क्याप्टेन सन्तोष शाह, क्याप्टेन प्रभाकर घिमिरे र एयर होस्टेज सृजना हुमागाईले परीक्षण उडान गरेका हुन् ।

उनीहरुले पटक–पटक विमानस्थल वरिपरिको क्षेत्रमा समेत उडान गरेर नियमित संचालनका लागि उपयुक्त दिशा तथा अझै बनाउनुपर्ने संरचनाका बारेमा अध्ययन गरेका थिए ।

बलेवा विमानस्थल कार्यालयका एयर ट्राफिक अफिसर इमनाथ अधिकारीले उडानका लागि विमानस्थल उपयुक्त रहेको भन्दै थप पूर्वाधार निर्माण गर्नसके राम्रो विमानस्थल बन्ने बताए ।

स्थानीयबासी तथा धौलागिरि क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुको पटक पटकको प्रयासपछि बिमानस्थल नियमित संचालनमा आउने भएको हो । तत्कालीन १४ गाविसका स्थानीयको श्रमदानमा २०१८ सालमा यो विमानस्थल निर्माण भएको हो ।

Loading...