२४ किलोमिटर कालोपत्रे भयो नारायणगढ–मुग्लिन सडक

काठमाडौं, ६ चैत ।

नारायणगढ–मुग्लिन सडक विस्तारको कामले तीव्रता पाएको छ । कामले तीव्रता पाएसँगै ३३.२ मध्ये २४.५ किलोमिटर सडक कालोपत्रे भएको छ । समग्र काम भने ८१ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समय कामले तीव्रता पाएसँगै प्रगति बढ्दै गएको हो ।

राजधानीसँग तराई जोड्ने लाइफलाइनका रुपमा रहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार कालोपत्रेको पहिलो तह २४.५ किलोमिटर सम्पन्न भएको छ । दोस्रो तह २०.५ किलोमिटर र तेस्रो तहको कालोपत्रे शुरुवात् गरिएको छ ।

खनालका अनुसार सो सडक ३३.२ किलोमिटर लामो छ । आगामी वैशाख १५ सम्ममा पहिलो तह र जेठ १५ सम्ममा पहाड काट्न बाँकी रहेको चेपाङ डाँडाको फेदको ५०० मिटरबाहेक अन्य क्षेत्रमा कालोपत्रे सम्पन्न हुने उनले बताए । शुरुमा ५.५ मिटरमात्रै फराकिलो रहेको सडक आठ मिटरसम्म फराकिलो भए पनि नौ मिटर पु¥याउन धेरै भित्तो काट्नु पर्ने भएकाले समयमा सम्पन्न हुन कठिन देखिएको छ ।

आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीले तेस्रो खण्डलाई ९९ दिन, दोस्रो खण्डलाई ८९ दिन र पहिलो खण्डलाई ८५ दिन मिति थप्न उपयुक्त भएको भन्दै प्रस्ताव गरिएको बताए । पहिलो खण्डका लागि १० मे २०१८, दोस्रो खण्डका लागि २० मे २०१८ र तेस्रो खण्डका लागि ३० मे २०१८ सम्मको समय थप गर्न सिफारिस गरिएको हो । सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो ।

Loading...