ब्लोदानले मनायो रजत जयन्ति तथा तेस्रो राष्ट्रिय रक्तदाता दिवस

काठमाडौ, ३ चैत । नेपालका राष्ट्रिय रक्त कार्यक्रममा स्वयंमसेवी रक्तदानको क्षेत्रमा सक्रिय भूमिका निभाईरहेको राष्ट्रिय संस्था ब्लोदानको स्थापना दिवसको अवसरमा विना सोधभर्ना विरामीलाई रगत उपलब्ध गराउन स्वयंसेवी रक्तदान अभियानमा सहभागी होऔं भन्ने नारा सहित नेपालको प्रथम रक्तदाता स्व. दयावीर सिंह कंसाकारप्रति समर्पण गरेर काठमाडौमा आयोजना गरिएको ब्लोदानको स्थापनाको रजत जयन्ती तथा तेश्रोे राष्ट्रिय रक्तदाता दिवस २०७४” भव्यतापूर्वक सम्पन्न भएको छ ।

ब्लोदानका केन्द्रीय उपाध्यक्ष श्री रमेशध्वज बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै काडमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले व्यक्तिगत रुपमा तथा संस्थागतरुपमा अभिव्यक्त गरिएका भावनाहरु र मननयोग्य सुझावहरुलाई काठमाडौ महानगरपालिकाले कार्यान्वयन गर्ने बताउनुहुँदै सम्पूर्ण रक्तदाताहरुलाई उत्साहित र प्रेरित गर्ने कार्यमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा विशेष अतिथि केन्द्रीय रक्तसंचार सेवा, नेपाल रेडक्रस सोसाइटीका निर्देशक डा. मनिता राजकर्णिकारले नेपालको रक्तसंचार कार्यमा शतप्रतिशत स्वयंसेवी रक्तदाताहरुबाट रगत संकलन कार्यमा ब्लोदानले निभाउँदै आएको भूमिका सह्राहनीय रहेको र सो कार्यलाई निरन्तर जारी राख्नुपर्ने बताउनु हुँदै एकैपटक ठूलो मात्रामा रक्तदान भन्दा पनि नियमितरुपमा रक्तदान कार्यक्रमलाई सञ्चालन गरेको खण्डमा रगतको माग परिपूर्ति कार्यमा सहज हुने आफ्नो धारणा रहेको चर्चा गर्नुभयो ।

साथै उहाँले जीवन बचाउने कार्यमा लागिपरेको नेपाल रेडक्रस सोसाइटीले ५१ औं वर्षगांठ मनाइसकेको चर्चा गर्नुहुँदै सहज रगत आपूर्ति कार्यमा विशेष योजना बनाई नेपाल सरकार, ब्लोदान तथा अन्य सरोकारवाला संघसंस्थाहरुको संयुक्त प्रयासबाट मात्रै हाम्रो लक्ष्य परिपूर्ति हुने बताउनुभयो ।

सोही कार्यक्रममा वरिष्ठ कलाकार सन्तोष पन्त, ब्लोदानका संस्थापक एवं वरिष्ठ सल्लाहकार श्रीमती सुर्यकुमारी श्रेष्ठ, नेपाल हेमोफोलिया सोसाइटीका उपाध्यक्ष उज्वल के.सी., नेपाल थालिसिमिया सोसाइटीका सचिव कमलनाथ उप्रेति, ब्लोदानका केन्द्रीय महासचिव ई.सानु बाबु प्रजापति लगायतले रक्तदाताहरुलाई सरकारले स्वास्थ्य बीमा गर्नुपर्ने, सरकारले विना शोधभर्ना विरामीलाई निःशुल्क वितरण गर्ने भनिएको प्रकृयालाई यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

राष्ट्रिय रक्त कार्यक्रममा सरोकार राख्ने विभिन्न विशिष्ट महानुभावहरूको सहभागिता रहेको उक्त कार्यक्रममा ब्लोदानका संस्थापकहरु, निवर्तमान अध्यक्षहरु तथा ४ कार्यकाल सेवा गरेका पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको थियो भने रक्तदानमा सरोकार राख्ने व्यक्ति तथा संस्थाहरू मध्येबाट क्रमशः २० वर्ष देखि ब्लोदानमा आवद्ध भई रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरु, लामो समयसम्म विशेष सहयोग गरेका, स्वयंसेवी रक्तदान क्षेत्रमा विशेष भूमिका रहेको संस्थाहरु, ब्लोदान जिल्ला शाखा तथा क्षेत्रहरुलाई कदर पत्रका साथै ब्लड फण्डका सहयोगीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो भने ब्लोदान रजत जयन्ती स्मारिकाको प्रमुख अतिथिले विमोचन गर्नुभएकोे थियो ।

Loading...