बोक्सी काण्डमा मुछिएका मेयर ममताप्रसादको पेटमा गोली, टाउकोमा खुकुरी हानियो

काठमाडौँ, २८ फागुन । बाेक्सीकाे अाराेप लगाउँदै कक्षा ११ मा पढ्ने युवतीमाथि लगातार ६ घन्टा कुटिएकाे घटनाका रमिते भएकाे र सञ्चारमाध्यममा निकै गैरजिम्मेवारपूर्ण तरिकाले अन्तरवार्ता दिएकाे भन्दै अालाेचना खाएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएकाे छ । उनलाई कैलालीकै सुख्खडमा रहेकाे अाफ्नै घरमा बसिरहेका बेला गाेली हानिएकाे बताइएकाे छ । सोमबार साँझ करिब १० जनाको संख्यामा अाएकाे हतियारधारी समूहले चौधरीमाथि गोली प्रहार गरेर भागेकाे उनका अाफन्तले जनाएका छन् । 

चाैधरीमाथि गाेलीसँगै खुकुरी पनि प्रहार गरिएकाे छ । उनीमाथि कसले गाेली हानेकाे हाे भन्ने अहिलेसम्म केही जानकारी थाहा नभएकाे प्रहरीले जनाएकाे छ । करिव १० जनाकाे संख्यामा अाएकाे अज्ञात समूहमध्ये १ जनाले गाेली हानेकाे र अर्का एकले चाैधरीकाे टाउकाेमै खुकुरी प्रहार गरेकाे उनका अाफन्तले जानकारी दिएका छन् । 

आक्रमणबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि तत्कालै सुख्खडमै रहेकाे घोडाघोडी अस्पताल लगिएकाे थियाे । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विनोद घिमिरेले मेयर चाैधरीकाे स्वास्थ्य अवस्था गम्भीर रहेकाे जानकारी दिएका छन । उनले चाैधरीकाे  पेटमा गाेली लागेकाे बताए ।

केही दिन अघिमात्र  घाेडाघाेडी नगरपालिकामै कक्षा ११ कि छात्रा राधा चौधरीलाई बोक्सीको अारोपमा ६ घण्टासम्म चरम यातना दिइएकाे घटना निकै भाइरल बनेकाे थियाे । साे घटनामा मेयर चाैधरी रमिते बनेकाे र पछि ती युवतीलार्इ अमानवीय यातना दिने झाँक्रीलार्इ प्रहरीले पक्राउ गर्दा उल्टै छुटाएकाे भन्दै उनकाे अालाेचना भएकाे थियाे । नेकपा एमालेबाट मेयर बनेका चाैधरीमाथि एमाले पार्टीले पनि अान्तरिक कार्वाही गर्ने चर्चा चलेकाे थियाे । 

त्यही घटनालाई लिएर चौधरीमाथि गोली हानिएको हुन सक्ने प्रहरीको अनुमान छ । सोमबार ८ः३० तिर मेयर चौधरीमाथि गोली प्रहारी भएको बताइएको छ तर कसले र किन हानेको भन्ने केही जानकारी अाएको छैन ।

मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेर फरार भएपछि चौधरीको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

नारी दिवसकै दिन बाेक्सीकाे अाराेपमा राधा चाैधरीमाथि कुटपिट भएको घटनापछि चर्चामा अाएका मेयर ममताप्रसादले नयाँ पत्रिकालार्इ दिएकाे अन्तरवार्ता निकै चर्चामा अाएकाे थियाे । उक्त अन्तरवार्तामा चाैधरी गैरजिम्मेवार भएर प्रस्तुत भएकाे बताइएकाे थियाे । 

यस्तो छ चाैधरीकाे अन्तरवार्ता 

मेयरज्यू, तपाईंको नगरपालिकास्थित देउकलिया गाउँमा बिहीबार बोक्सीको आरोपमा एउटी किशोरीलाई समाजकै अगाडि मरणासन्न हुने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ, यो विषयमा तपाईंलाई जानकारी छ कि छैन ?

किन नहुनु ? जानकारी छ । पीडितलाई अहिले धनगढी लगिएको छ, अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने व्यक्तिलाई पनि सार्वजनिक अपराधको मुद्दा लगाउन जाहेरी परेको छ ।

जाहेरी कसले दिएको हो ?

पीडित पक्षले ।

जाहेरी त आज मात्र परेको छ, घटना हिजोको हो, तपाईंलाई कहिले थाहा भयो यो घटना ?

हिजो नै भयो ।

कुटपिटबाट घाइतेलाई हिजो नै एम्बुलेन्समै राखेर प्रहरी चौकीमा लगिएको थियो, तपाईं पनि त्यहाँ पुग्नुभएको थियो भन्ने जानकारी आएको छ नि ?

हो, म एकैछिन पुगेको थिएँ ।

कुटिएकी किशोरीलाई पनि चौकीमा राखिएको थियो, घटना कसरी भएको हो, उनीसँग केही जानकारी लिनुभयो ?

अहँ, किन लिनु र ?

होइन, पीडित किशोरीसँग सोधपुछ पनि गर्नुभएन ?

मैले पीडितसँग पनि गरिनँ, पीडकसँग पनि गरिनँ ।

त्यसो भए किन जानुभएको त चौकीमा ?

बाटोमा जाँदै थिएँ, भिडभाड देखेँ, के रहेछ भनेर हेरेको । मान्छेहरू आपसमा बाझाबाझ गरिरहेका थिए । त्यस्तोमा के बोल्ने भनेर आफ्नो बाटो लागेँ ।

ए, त्यसो भए ‘रमिता’ हेरेर फर्कनुभयो ?

हो, अरू पनि काम हुन्छन् नि मान्छेका ।

साँच्चै, तपाईं मेयर हुनुअघि त्यहाँको उमाविमा पढाउनुहुन्थ्यो रे, हो ?

हो, राष्ट्रिय उमाविमा अंग्रेजी पढाउँथेँ ।

ए, तपाईं आफैँले अंग्रेजी कहाँ पढ्नुभएको हो नि ?

काठमाडौं, कीर्तिपुर केन्द्रीय क्याम्पसतिर । ०६८ तिर मास्टर्स पास गरेको हुँ ।

त्यसो भए त तपाईं युवा नै हुनुहुन्छ ?

हो, भर्खर ४० वर्षको भएँ ।

युनिभर्सिटी क्याम्पसबाट अंग्रेजीमा मास्टर्स पढेको एउटा युवा जनप्रतिनिधि भएको छ, तर आफ्नै गाउँमा एउटी किशोरी बोक्सीको आरोपमा सार्वजनिक रूपमा कुटिँदा बोल्न सक्नुहुन्न भने तपाईंको शिक्षालाई, तपाईंको उमेरलाई र जनताबाट तपाईंले पाएको विश्वासलाई के भन्ने होला ?

त्यसमा कारबाही गर्ने काम प्रहरीको हो, मेयरको होइन ।

ती किशोरी तपाईं आफैँ शिक्षक भएको राष्ट्रिय उमाविमा कक्षा ११ कि विद्यार्थी पनि हुन् नि, जानकारी छ तपाईंलाई ?

जानकारी भएन ।

आफ्ना नगरपालिकाभित्रकी बासिन्दामाथि बोक्सीको आरोपमा कुटपिट भएको छ, सार्वजनिक रूपमा दुव्र्यवहार भएको छ, तर ती को रहिछन्, के गर्छिन् भन्ने विषयमा तपाईंलाई चासो भएन ?

मैले तपाईंलाई भनिसकेँ, त्यो काम प्रहरीको हो ।

जनतामाथि अन्याय भएको छ भने आवाज उठाउने भूमिका पनि छैन तपाईंको ?

त्यो तपाईंले सिकाउनुपर्दैन । मलाई आफ्नो दायित्व थाहा छ ।

गोठमा गोबर सोहोरिरहेकी बालिकालाई लछारपछार गर्दै लगेर सात घन्टासम्म कुटपिट भएको छ, ती बालिका कसकी छोरी हुन्, तर आफ्नो गाउँ–टोलकी ती बालिकाको विषयमा तपाईंलाई ३० घन्टासम्म पनि जानकारी किन छैन ?

मैले तपाईंलाई भनिसकेँ, मान्छेका अनेक काम हुन्छन् । आफ्नो गाउँमा मैले के गर्ने भनेर काठमाडौंमा बसेको पत्रकारले फोन गरेर सिकाउनुपर्दैन, तपाईं आफ्नो काम गर्नोस् ।

देश संघीयतामा गएको छ, जनताले स्थानीय जनप्रतिनिधि पाएका छन्, तपाईंजस्ता युवा निर्वाचित पनि भएका छन् । तर, आफ्नै छिमेककी चेलीमाथि यत्रो ज्यादती हुँदा पनि तपाईं थाहा नपाएजस्तो गर्नुहुन्छ भने त्यसविरुद्ध आवाज उठाउनु, प्रश्न गर्नु ताप्लेजुङदेखि दार्चुलासम्मका सचेत नागरिकको कर्तव्य हो नि, होइन र ?

तपाईं आफ्नो कर्तव्य पूरा गर्नोस्, तर मलाई नसिकाउनुस् ।

तर, अन्तिममा तपाईंलाई एउटा कुरा भनौँ है, मेयरज्यू

भन्नोस् ।

नामचाहिँ ममताप्रसाद कसले राख्यो होला ? तपाईं त निष्ठुरप्रसाद हुनुहुँदो रहेछ ?

त्यो तपाईंको मूल्यांकन हो । मलाई त्यसमा चासो छैन ।

Loading...