प्रचण्डसहित धेरै नेपाली नेताहरु किनिएको दावी

काठमाडौं, २५ फागुन । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले प्रचण्डहरु भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादद्वारा किनिएको बताएका छन् ।

जनयुद्ध र नेपालको माओवादी क्रान्तिले धक्का खाएपछि जनताका अधिकार खोसिएको भन्दै उनले सारा संसारभरीका साम्राज्यवादीहरु, विस्तारवादीहरु र देशभित्रका प्रतिक्रियावादीहरुले मिलेर क्रान्तिलाई समाप्त पारेको बताए ।

‘सेना प्रहरी लगाएर जनयुद्धलाई दबाउन नसकेपछि साम्राज्यवादी, विस्तारवादी र प्रतिक्रियावादीहरुले रणनीतिलाई बदलेर जनयुद्धको नेतृत्वकर्तालाई प्रलोभनमा पारेर किनिदियो ।’ उनले भने,- ‘अहिले यहाँ माओवादीले हारेर मात्र प्रतिक्रान्ति भएको छैन । यहाँ जो प्रतिक्रान्ति भएको छ आफ्नै पंक्तिको अझ जनयुद्धको क्रान्तिको नायक भन्ने मान्छे आफैले आत्मसमर्पण गरेर त्यो क्रान्तिकाबिरुद्ध षड्यन्त्रमा उ आफै सामेल भयो ।’

बिहिबार काठमाडौँको शान्तिबाटिकामा नेपाल कम्युनिष्ट पार्टी र नेकपा क्रान्तिकारी (माओवादी) निकट महिला संगठनहरूद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले नेपाली क्रान्तिलाई प्रतिक्रान्तिमा बदल्नेहरुले अब क्रान्तिको जरुरी नै नभएको भन्दै आफुहरुलाई उपदेश दिने गरेको समेत बताए । उनले भने- ‘त्यसकारण यो प्रतिक्रान्तीका बिरुद्ध नलडिकन हामीले जनयुद्धमा उठाएका एजेण्डाहरुलाई स्थापित गर्न सक्दैनौं ।’

यो प्रतिक्रान्तिका बिरुद्ध अर्को क्रान्ति आवश्यक भएको उनले बताए । सिंहदरबार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कुम्भ मेला लागेको भन्दै उनले त्यही मेलामा एमाले माओवादीहरु पदीय भागबण्डामा मात्र तल्लिन रहेको बताए ।

‘त्यो मेलामा कोहि पनि जनता सामेल भएका छैनन्, उनीहरुको भागबन्डाले आम जनताको जीवनमा केहि पनि फरक परेको छैन । हाम्रा सिमाना मिचिएकै छन् । दिनदाहाडै महिला र बालिकाहरुमाथि बलात्कार र हत्या भएकाे छ उनीहरुलार्इ कुनै मतलव छैन् । यहाँ अरबौंको भ्रष्टाचार भएको छ त्यसको मतलब छैन ।’ उनले भने,- ‘त्यसकारणमा नेपालमा भएकाे प्रतिक्रान्तिले देशलाई बर्बाद गर्दैछ । तिनै प्रतिक्रान्तिकारीहरूले नै हामीलार्इ उपदेश दिदै छन् र भन्दैछन् अब नेपालमा क्रान्ति गर्नुपर्ने आवस्यकता छैन ।’

एउटा दक्षिणपन्थी पार्टीमा अर्को दक्षिणपन्थी मिसिंदैमा वामपन्थी हुदैन

नेता गजुरेलले एमाले वामपन्थी नरहेको धेरै बर्ष भइसकेको परिस्थितिमा अलिकति बचेखुचेको राग पनि छोडेर माके पनि एमालेमै मिसिदाँ वामपन्थी हुन नसक्ने बताए। एमाले माओवादीहरु आफैले आफुलाई वामपन्थी भन्नु लज्जास्पद भएको उनको भनाई छ ।

एउटा दक्षिणपन्थी पार्टीमा अर्को दक्षिणपन्थी गएर मिसिंदैमा वामपन्थी हुन नसक्ने भन्दै गजुरेलले यो एकता वामपन्थी एकता नभएर प्रतिक्रियावादमा पतन भएका दक्षिणपन्थीहरुको एकता भएको र यो वामपन्थी गठबन्धन नभएर प्रतिक्रियावादी गठबन्धन भएको बताएका छन् ।

नेता गजुरेलले प्रश्न गरे- ‘अहिलेको सत्ता प्रतिक्रियावादी सत्ता हो, अहिलेको संबिधान पश्चगामी संबिधान हो । प्रतिक्रियावादी सत्तामा जानेहरु कहिँ दुनियाँमा वामपन्थी हुन्छ ? ”कहिँ नभएको जात्रा हाँडिगाँउमा” भन्याजस्ताे संसारमा कतै पनि यस्तालाई वामपन्थी भनिदैन तर नेपालमा चाहिँ वामपन्थी भनेपछि हाम्रा सोझा जनता झुक्किएर भ्रममा परे ।’

प्रचण्डले गणतन्त्र, संघीयतालगाएत सबै व्यवस्था आफुले ल्याइदिएको भन्दै भाषण गर्दै हिडेको पनि नेता गजुरेलको आरोप छ । ‘नेपालको सामन्त दलाल नोकरशाही पुजीपति वर्गको सत्तालाई खारेज गरेर त्यसलाई समाप्त पारेर नेपालमा नयाँ जनवादी गणतन्त्र ल्याउने भन्याथ्यौ हामीले । उनले भने, -‘यो लोकतान्त्रिक गणतन्त्र ल्याउने भनेकै थिएनौं । हामीले नेपालमा नयाँ जनवादी गणतन्त्र ल्याउने भन्या त लोकतान्त्रिक गणतन्त्र ल्याएर यहि हो गणतन्त्र भनेर भन्ने कस्तो बदमास हेर्नुस त् ठग !’ नेपालमा भरमाको खेति गरेर नेपाली जनतालाई भ्रममा पारेको उनको भनाई छ ।

नेता गजुरेलले गत फागुन ६ गते विराटनगरमा नेकापा सम्बद्ध युवा सङ्गठनको सम्मेलन बिथोल्न नेता कार्यकर्तालाई गिरफ्तार गरिएको प्रसङ्ग जोड्दै भने,- ‘हिजो जसले क्रान्तिको नेतृत्व गरे अहिले उनै सडेका, कुहिएका र गन्हाएक प्रतिक्रियावादीले साम्राज्यवादी र विस्तारवादीको बन्दुक बोकेर क्रान्तिकारीहरुलाई दबाउने ठेक्का लिएका छन् ।’

नेकपाकाे युवासङ्गठनमाथि गरिएको दमन समग्र नेपालका राजनीतिक पार्टीलाई गरिएको उनको बुझाई छ । शान्तिपूर्ण तरीकाले सम्पन्न हुन गइरहेको सम्मेलनमाथि दमन गरेको भन्दै उनले कडा शब्दमा बिरोध गरे ।

‘अहिलेको यो जुन सरकार आएको छ, एउटा सङ्गठनको खुल्ला सम्मेलनमा त्यहाँ हतियार पनि लगेको छैन, केहि पनि लागेको छैन । त्यस्तो खुल्ला खालको सम्मेलनमा दमन र गिरफ्तार गरेर सम्मेलन नै हुन् दिएन । के यही हाे गणतन्त्र भनेको ?’ नेता गजुरेल भने, -‘ उनीहरुले लागु गर्ने गणतन्त्र भन्या त् यही गणत्रन्त्र रहेछ । जसले सामान्यरुपमा शान्तिपूर्ण तरिकाले आफ्नो सङ्गठनकाे सम्मेलन गर्न पनि नपाउउने त्यस्ताे खालकाे गणतन्त्र हाे भने यस्ताे गणतन्त्र मुर्दावाद ! यो गणतन्त्र हामीलाई चाहिँदैन । तिमीहरु नै लैजाऊ यो गणतन्त्र ।’

दमन गरेर जनताका अधिकारहरु खोस्न नपाइने भन्दै उनले प्रचण्ड गठबन्धनको केपी ओली सरकारलाई चेतावनी समेत दिए ।

Loading...