४३० कोरोना संक्रमित थपिए, ५ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार रहेको छ ।

यसअघि सोमबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ थियो । पछिल्लो २४ घण्टामा थप ३९० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५९ हजार ३५८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ९६८ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९३२ पुगेको छ ।

Loading...