सिन्धुपाल्चोकमा एकाबिहानै पहिराेकाे प्रकाेप : २८ घर पुरिए, ३५ जना बेपत्ता

बाढी र पहिराेकाे प्रकाेपबाट थिलाेथिलाे बनकाे सिन्धुपाल्चाेकमा फेरि आज गएकाे पहिराेमा परी  करिब ३५ जना मानिसहरु हराएका छन् । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो जाँदा कम्तीमा ३५ वेपत्ता भएका हुन् ।

शुक्रबार बिहान करिब साढे ६ बजेतिर पहिराे खसेकाे हाे । बस्तीभन्दा कम्तीमा ४ सय मिटर माथिबाट आएको पहिरोले २८ घर पुरेको र घरहरु बगाएर बलेफि खोलासम्म ल्याएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठका अनुसार ५ घरका मानिस सम्पर्कविहीन भएका हुन् ।माथिबाट अझै पहिरो खसिरहेको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा समस्या भएको उनले बताए । उनका अनुसार पहिरोमा घर पुरिएकाहरु डाँडामा गएर बसेका छन् । नजिकै अर्को कुनै गाउँ नभएको र पूरै गाउँ पहिरोले बगाएकाले उद्धारमा समस्या भएको बताइएकाे छ ।उक्त ठाउँमा मानिस हिडेर पुग्न सम्भव नभएकाले हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठ बताएका छन् ।

सिन्धुपाल्चोकको मेलम्चीमा १९ साउनमा पहिरोमा पुरिएर ८ जनाको ज्यान गएको थियो भने २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला पर्न सकेका छैनन् ।

Loading...