सिटिइभिटिको उपाध्यक्षमा अधिकारी नियुक्त

काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटि)को उपाध्यक्षमा खगेन्द्रप्रसाद अधिकारीलाई नियुक्ति गरेको छ । झापा स्थायी घर भएका अधिकारी निजी प्राविधिक शिक्षालयका सञ्चालक हुन् ।

अधिकारी निजी प्राविधिक शिक्षालयहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्सका निवर्तमान अध्यक्षसमेत हुन् ।

असार २ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई मनोनयन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

उनको गौशालामा विनायक कलेज अफ हेलथ साइन्स सञ्चालनमा रहेको छ । प्रधानमन्त्री निकट अधिकारीलाई प्रधानमन्त्री केपि शर्मा ओलीकै सिफारिसमा सिटिइभिटिको उपाध्यक्षमा नियुक्ति गरिएको स्रोतले जनाएको छ ।

त्यस्तै वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा ताप्लेजुङ फुङलिङ नगरपालिका–९ का फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिक्डोल) नियुक्त भएका छन् । त्यस्तै कार्यकारी निर्देशकमा नुवाकोट दुप्चेश्वरका होमबहादुर दाङ नियुक्त भएका मन्त्री खतिवडाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. राजन खनाललाई नियुक्त गरेको छ । काभ्रेको नमोवुद्ध नगरपालिका – ७ घर भएका उनले केही महिनाअघि अर्थ मन्त्रालयको सचिव पदबाट अवकाश पाएका थिए ।

Loading...