राज्यमन्त्री रामवीर मानन्धरको नाममा बालाजु बाइपासमा घर गुमाएका पिडितको खुला पत्र

पछिल्लो समयमा काठमाडौं उपत्यका भित्र विकासको नाममा रैथाने गैरनेवार/नेवाःहरूको निजि सम्पत्ति मात्र नभई ऐतिहासिक धरोहर भत्काउने, सांस्कृतिक पर्वहरूमा ठाडो हस्तक्षेप गर्ने, गुठी मास्ने जस्ता कार्यहरू सरकारी निकायहरूबाटै भईरहेको विदितै छ । काठमाडौंको सान, देशको पहिचान भनेकै यी नै मूर्त/अमूर्त सम्पदा होईनन् र ? यसकै बिनास गर्न थाले पछि विश्वमा हाम्रो के पहिचान रहला र ? तपाईं जनप्रतिनिधि मात्र नभएर नेवाः त्यसमाथि पनि मानन्धर समुदाय कै एउटा गर्वको विषय राज्यमन्त्री हुनुभएको छ । नेवाःको हक अधिकार, संरक्षण, वृद्धि विकास लगायत मूर्त/अमूर्त सम्पदा संरक्षणमा तपाईको भूमिका के रह्यो ?
सत्ताको मात र माथिको आदेश पालना गर्दा गर्दै, म को हूँ ? भन्ने कुरा नै बिर्सनु भए जस्तै लाग्यो । तपाईं तिनै रैथाने नेवाः हुनुहुन्छ, जसको रगतमा नेवाः संस्कार र संस्कृति मिसिएको छ । तपाईंले चाहेर पनि फ्याँक्न सक्नु हुन्न । अनि यो बडप्पन कसका लागि ? आफ्नै घुँडामा बञ्चरो हानि जग हँसाउने काम बन्द गरौं । आफ्नो विवेक पनि प्रयोग गरौं । उपत्यकाबाट रैथाने नेवाःहरू बिस्थापित हुनु, माथिको आदेश भन्दै प्रहरी प्रशासनले अभियन्ताहरू माथि अन्याय अत्याचार पूर्वक लाठीचार्ज गर्नु, धरपकड गरि चौकीमा कोच्नु, साईबरक्राइमका नाममा दुःख दिनु, बृद्ध बा आमा रूदै आँखाबाट आशु झार्दा तपाईंको मन कत्ति पनि रोएन ? होला, हिजोको दिनमा तपाईंको ब्यक्तिगत रीसिईबी कोहि संग । आज तपाईं मात्र रामवीर मानन्धर होइन, माननीय राज्यमन्त्री रामवीर मानन्धर हुनुहुन्छ । समय गतिशील छ । त्यसैमा नअल्झिनुस्, संकुचित विचारबाट माथि उठ्नुस् ।
नेवाःहरू बिस्थापित हुँदा उसको भाषा, संस्कार, संस्कृति, चाड, पर्वहरू पनि मासिनु हो । सामुहिक रूपमा गरिने कुनै पनि सांस्कृतिक पर्वहरू, स्थानीय चाडहरू, ती स्थानीय ब्यक्तिहरू छिन्नभिन्न भएर टाढाटाढा छरिएपछि सो कार्यले निरन्तरता पाउन सकिन्न । त्यसै पनि कतिपय नेवाःहरू गुठी छाडेर बसेका छन्, धर्म परिवर्तन गरेर हिंडेका छन् । जुन कुरा तपाईंलाई पनि राम्रोसँग थाहा छ । एकातिर ती नेवाःहरूलाई फर्काउनु त कता हो कता, तपाईं र तपाईंको सरकार यसरी कथित विकास गर्दै जाँदा नेवाःहरू, हतिहासको पानामा पढ्नु पर्ने दिन नआउँला भन्न सकिन्न ।
पछिल्लो समय सरकारी प्रशासनलाई काम गर्न अति सजिलो भएको छ । प्रशासन जनप्रतिनिधीको काँधमा बन्दुक राखेर नेवाः, नेवाः वस्ती, नेवाः सभ्यता सिध्याउन प्रपञ्च रचिरहेको सजिलै बुझ्न सकिन्छ । अप्ठ्यारो परिस्थिति आए हामीले होइन तपाईकै जनप्रतिनिधि सो काम गरेको भनेर जनप्रतिनिधिलाई नै देखाइदिन्छ ।
अरु ठाउँको परिस्थिति जे जस्तो भए पनि बालाजु बाइपास को सवालमा तपाइ (राज्यमन्त्री रामवीर) आफैंले मैले गरेको हो भनेर अघि सरेको देखिन्छ । जो जसलाई सुकुम्बासी भनिएको छ, चाहे कांग्रेस सरकार होस् वा कम्युनिस्ट सरकार होस् , ती समुदायको संरक्षण गर्न प्रयत्नरत छन् ।‌ १० वर्ष सुकुम्बासी भई बसेकाहरूलाई चार आना जग्गा दिने सरकारको नीति देखिन्छ । हामी सुकुम्बासी होइनौ, सोबासी हौ भन्ने प्रमाण हुँदाहुँदै पनि तपाइ राज्यमन्त्री रामवीर मानन्धर हामीलाई यस ठाउँबाट विस्थापन गर्न प्रशस्त कागजात भएको दाबी गर्नुहुन्छ । अरु नेताहरु आफ्नो समुदायलाई बचाउन, वृत्तिविकास गर्न प्रयत्नरत देखिन्छ । तपाई उल्टै हामी नेवाःहरूलाई विस्थापन गर्न, निमिट्यान्न पार्न खोजेको देखिन्छ । माथिको आदेश को हो ? सबैले बुझिसके । सरकार भन्दापनि माथिको आदेश हावी भयो । कानुन सम्मत नै भएपनि पिडितहरूसंग विकल्प सहित उचित क्षतिपूर्ति र मूअब्जा सहितको सम्झौता हुन्थ्यो । जुन भएन । के यो पदको चरम दुरुपयोग भएन र ? समय छदै एक पटक शान्त मनले पुनर्विचार गर्नुस्, आसेपासेको कुरा नसुन्नुस् ।

भोलिको दिनमा सडक बिस्तारबाट विस्थापित नेवाःहरूको इतिहास कसैले लेख्छ भने बालाजुको पनि पिडादायी कुरा अवश्य पनि लेखिएला । विकासको नाममा यो जित तपाईं र तपाईंको छोरासम्मको हुनेछ । तपाईंको नाति र त्यसपछिका पुस्ताले जब राज्यमन्त्री रामवीर मानन्धरका कारण नेवाः विस्थापित भएको कालो अक्षरले लेखिन्छ, तब ती पुस्ताले तपाईंलाई कति धिक्कार छन् ह‍ोला ? एकपटक छातीमा हात राखेर सोच्नुस् । हामी एकपटक मर्छौं, तपाइका नाति र त्यसपछिका पुस्ताहरू पटकपटक मर्ने छन् । सिमित आसेपासे, आफन्तजनहरूको अगाडि तपाईं हिरो बन्ला, समग्र मानन्धरको इतिहासमा तपाईं एक कालो धब्बा हुनेछ । मात्र कालो धब्बा । भोलिको दिनमा तपाईं राज्यमन्त्री रामवीर मानन्धरकै कारण समग्र मानन्धरहरूको शिर झुक्ने काम नगर्नुस् ।
जनप्रतिनिधिको काम भनेको कोही समस्यामा परेको खण्डमा त्यसको समस्या समाधान गर्ने हो, नकी समस्या ल्याउनेलाई नै निमिट्यान्न पार्ने । हामीसंग विकल्प नभएको पनि होइन । जहाँ समस्या, त्यहाँ उपाय पनि हुन्छ नै । वार्ता गरौं, विकल्प खोजौं, कसैलाई हानी नहुने गरि समस्याको समाधान गरौं ।

महेश्वर मानन्धर
संयोजक, बालाजु सडक विस्तार पिडित संघर्ष समिति

Loading...