मेरो बहानामा मेरो देश माथि कुनै षड्यन्त्र नहोस् : जालिम मियाँ (अन्तरवार्ता)

(शुक्रबार भारतीय मिडियाहरुले नेपालबारे एक अफवाह फैलाए । भारतमा कोरोना भाइरस फैलाउने षड्यन्त्र भैरहेको अफवाह फैलाइएकाे थियाे र नेपालको पर्साबाट यस्तो प्रयास भैरहेको उनीहरुको आरोप थियाे ।

समाचारमा पर्साका एक मेयर जालिम मुखियाको संरक्षकत्वमा पाकिस्तानी मुसलमानहरुले यस्तो योजना बनाइरहेको बताइएको थियाे। समाचारमा भनिएका व्यक्ति जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ हुन् । उनी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता पनि हुन् ।

स्थानीय सरकार प्रमुख समेत रहेका पर्साकाे जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँसंग साेही विषयमा केन्द्रित रहेर ननस्टप खबरका लागि संजीप शुभचिन्तकले गरेकाे संवादकाे सम्पादित अंश )

नेताजी तपाइँमाथि त भारतीय मिडियाहरुले भारतमा कोरोना फैलाउन खाेजेकाे आरोप लगाएका छन् नि ?
यो सब झुट हो । मलाई थाहाँ छैन किन यिनीहरु झुटको खेती गरिरहेका छन् । महाभूकम्पको बेलादेखि नेपाली जनता भारतीय मिडियाको विश्वास गर्दैनन् । यिनीहरु मनगढन्ते समाचार बनाउँछन् । यसपटक मेरै बारेमा निम्नस्तरको आरोप लगाएर समाचार बनाएछन् । म आफै अचम्ममा परिरहेको छु ।

तर, उनीहरुले भारतीय एसएसबीको हवाला दिएर तपाईले कोरोना फैलाउन खोजेको गम्भीर आरोप लगाएका छन् त ?

के कोरोनाको मसंग फ्याक्ट्री छ ? के मैले नै चीन, अमेरिका र इटालीमा कोरोना उत्पादन गरेर फैलाएको हो ? के कपडाको फ्याक्ट्री चलाएको जस्तो हो यो ? मलाई त्यसको असर हुँदैन ? म र मेरो गाउँपालिकाको मान्छे फलामको हो ? उनीहरुमा सर्दैन ? भारतमा मैले किन कोरोना फैलाउने त्यसको जस्टीफ़ाइ हुनुपर्दैन ? भारतीय डिजेपीले नै यो झुट खबर हो भनेपछि अब मैले धेरै भनिरहनुपर्दैन ।

तपाईमाथि एक सय कोरोनाको बिरामीलाई संरक्षण दिएर राख्नुभएको आरोप छ त ? उनीहरुलाई भारत पठाएर तपाइँ कोरोना फ़ैलाइदिन खोज्दैहुनुहुन्छ भन्ने आरोप छ नि ?

जब हाम्रो देशमै ९ जना कोरोनाको बिरामी छन् र ती पनि विदेशबाट आएकाहरु हुन् भने मैले कसरी सय जना इकठ्ठा गरे ? यो सफेद झुट दुनियाँमा कसैले पत्याउने वाला छैन ।

तपाईले पाकिस्तानी कोरोना संक्रमित मानिसहरुलाई आफ्नो गाउँपालिकामा संरक्षण दिनुभएको छ र उनीहरुलाई भारत पठाएर संक्रमण बढाउँन साजिस गर्नुभएको भन्ने छ नि ?
हेर्नुस् हामी लकडाउनमा छौं । हाम्रो अन्तराष्ट्रिय उडान बन्द छ । यस्तोमा कसरी पाकिस्तानी संक्रमित मेरो गाउँपालिकामा आउँन सक्छन् ? फेरि स्थलमार्गबाट भारत हुँदै भारतले आउँन दिन्छ ? दिन्छ भने पनि उनीहरुको त्यहि मक्सद भए भारतमै रहन्छ नि किन मेरोमा आएर फेरि उता पठाउनुपर्छ ?अर्काे कुरा मुस्लिम देख्याे की पाकिस्तानी भनिदिने ? चरीत्र हत्या गर्न याे भन्दा अर्काे हतियार उनीहरुसंग छैन ।

तपाइँलाई त भारतीय मिडियाले जाली नोट र हतियारको कारोबारी पनि भनेका छन् नि ?
त्यहि त म भन्दैछु, के मेरो देशमा कानुन छैन ? प्रशासन छैन ? गुप्तचर छैन ? म दोषी भएको रेकर्ड कहिँ कतिपनि भएको भए म अहिले जनप्रतिनिधि हुनेथिए ? यत्ति बुझ्न नसक्ने मिडियाको समाचार कसले पत्याउँछ ?

तर, तपाइँ माथि नै आरोप किन लागेको होला ?
हेर्नुस्, यो मेरो जाति र धर्मका कारण पनि आरोप लगाउन सजिलो भएको हुनसक्छ । म कम्युनिष्ट पार्टीसंग आवद्ध भएको र तत्कालिन बिद्रोही नेकपा माओबादीको नेता भएकोले पनि उनीहरु म प्रति पूर्वाग्रही रहेका हुनसक्छन् । तर, नेपालमा म एक निर्वाचित जनप्रतिनिधि पनि हुँ । मलाई बद्नाम गराउने मिडियालाई म सजिलै छोड्नेवाला छैन ।

तपाइँ के गर्न सक्नुहुन्छ ? उनीहरुले तपाइँ लाई गम्भीर आरोप लगाएर समाचार प्रकाशन/ प्रशारण गरिरहेकै छन् ?
म उनीहरु विरुद्ध न्यायिक लडाई लड्छु । म अन्तराष्ट्रिय अदालत जान्छु । म त्यतिकै उनीहरुलाई छोड्नेवाला छैन । तपाइँ लेखेर राख्नुस्, यदि उनीहरु आरोपको खण्डन गर्दैनन् भने म कानुनी कारवाही गराएरै छोड्छु । म उनीहरुलाई कानुनको कठघरामा उभ्याउछुँ ।

तपाईले भारतीय समाचारहरुको कसरी प्रतिरोध गरिरहनुभएको छ ?
हाम्रो नेपालमा त कसैले उनीहरुको कुरा पत्याउनेवाला छैनन् ।तर, भारतीयमा उनीहरुले भ्रम छर्न प्रयास गरेका छन् । भारतको प्रशासनले नै यो समाचार गलत भएको भनिसकेका छन् । मैले सामाजिक संजाल मार्फत पनि भिडियो शन्देशबाट उनीहरुको आरोपलाई खारेज गरिदिएको छु । मैले नेपाल सरकार परराष्ट्र मन्त्रालय र त्यस मार्फत भारतीय दुतावासमा गलत समाचार रोक्न पत्राचार गरेको छु । मैले जिल्लास्थित सिडिओ कार्यालय, प्रहरी कार्यालय, गुप्तचर निकाय लगायतमा पनि यसबारे अवगत गराइसकेको छु ।

तपाइँको गाउँपालिका भारतीय सिमानासंग जोडिएको छ । तपाईको भारतीय सुरक्षा निकाय संग कस्तो सम्बन्ध रहेको छ ?
राम्रो छ । हामीले उताका सुरक्षा निकायका मानिसहरुसंग कुरा गरेर लकडाउनलाई प्रभावकारी बनाउन समन्वय गरिरहेका छौं । आवतजावत रोक्न हामी आफैं सक्रिय भएर लागेका छौं । हामीलाई उताबाट कोरोना संक्रमित यता आउलान् कि भन्ने चिन्ता छ । हामीले सिमाबाट कोहि आउँन नदिन र कसैलाई जान नदिन ब्यापक सावधानी अपनाएका छौं । भारतीय मिडियाको खबरपछि त उहाँहरु नै छक्क पर्नुभयो ।

तपाइँ विरुद्ध यो संकटको घडीमा संगीन आरोप लाग्नुको पछाडी कसको हात होला जस्तो तपाइँलाई लागेको छ ?
म स्थानीय सरकार प्रमुख पनि हुँ । यो म विरुद्ध मात्र हाेइन, सम्पूर्ण नेपाली विरुद्ध गरिएको हमला हो । नेपालमा अस्थिरता चाहनेहरुको यो षड्यन्त्र हुनसक्छ । हिन्दू मुस्लिमबीच विभेद गराउने र शंकाउपशंका बढाउने प्रयोग यसमा भएको हुनसक्छ । मेरो चरीत्र हत्या गरेर लाभ लिन खोज्ने राजनीतिक वृत्तका मानिसहरु पनि यसमा संलग्न हुँन सक्छन् । मूख्य कुरा जसले यो गलत सूचना प्रवाह गरे त्यो गिरोह न नेपालको हो, न भारतको हो । त्यो दुई देश बीच सम्बन्ध बिगार्ने तत्वको खेल हो भन्ने मलाई लाग्छ । भारतीय मिडियाको लालच के हो भन्ने म भन्दा तपाइँ मिडियाकर्मी मित्रहरु नै बढी बुझ्नुहुन्छ ।

भारतीय मिडियाले भारतीय सुरक्षा निकायकै हवाला दिएर तपाइँमाथि आरोप लगाइरहेका छन् । तपाइलाई भारतप्रति शंका लाग्दैन । मिडियाको पछाडि बसेर उसले कुनै हर्कत गर्न खोजेको त छैन ?

भारतको हेपाहा प्रवित्ति देख्दैभोग्दै आएका हामीमा उप्रति शंका हुनु स्वाभाविक नै हो ।तर, विहारका डिजेपी आफैले पनि यो अफवाह भएको भनिसकेका छन् । अर्को कुरा, सरकारी तवरले उताबाट कुनै पत्राचार भएका छैनन् । यसर्थ, यो प्रचारबाजीमा भारत सरकारको संलग्नता नहोला भन्ने आशा लिएको छु ।

तपाइँ विरुद्ध लाग्नेहरुलाई बेनकाब गर्न तपाइँको योजना के छ ?
म अहिले डिफेन्सिभ हुनुपरेको अवस्था छ । मेरो अफेन्समा सारा नेपाली लाग्नुभएको छ । सम्पूर्ण नेपाली मिडिया मेरो पक्षमा छ । म एक्लै यति ठूलो लडाई लड्न पनि सक्दिन । यहाँहरु सबैको साथको जरुरत छ । मलाई डर छ, कतै मेरो बहानामा मेरो देश माथि कुनै षड्यन्त्र नहोस् । म मेरो सरकारलाई छानविन गरि सत्य तथ्य पत्ता लगाउन समेत अनुरोध गर्दछु ।

कोरोना विरुद्ध तपाइँ आफ्नो गाउँपालिकामा कसरी लडिरहनु भएको छ ?
हामीले २ सय स्वयंसेवक परिचालन गरेका छौं । उनीहरुले सिमा वारपार हुँन बाट दुवै देशका सुरक्षाकर्मीसँग समन्वय गरी रोकिरहेका छन् । क्वारेन्टाइन पनि हामीले बनाएका छौं । क्वारेन्टाइनमा खानपिनको राम्रो व्यवस्था छ । जसमा अत्यावस्यक अवस्थामा भारतबाट आउने स्थानीयलाई हामीले राख्ने व्यवस्था मिलाएका छौं । हामीले ४० हजार थान मास्क स्थानीयलाई बाँडेका छौं । गाउँपालिकाभरी दबाई छर्किएका छौं । प्रत्येक घरघरमा हात धुने साबुन र पानीको बाल्टिन पठाएका छौं । डाक्टरलाई पूरै सुविधा दिएर स्वास्थ्य उपचारको प्रवन्ध मिलाएका छौं । हामी हाम्रा जनताको स्वास्थ्यप्रति असाध्यै संवेदनशील भएर लागिरहेका छौं ।

तपाईको गाउँपालिकामा गरीव घरपरिवारको जीवनयापनमा कसरी सहयोग गरिरहनुभएको छ ?
हामीले खान नपाउने प्रत्येक गरीब परिवारलाई एक महिनाको खाद्यानको व्यवस्था मिलाएका छौं। लकडाउनको अवधि बढ्ने सम्भावनालाई हेरेर थप खाद्यान्न समेत व्यवस्था गर्नेछौं । स्थानीय सरकार प्रमुख हुनुको नाताले मैले गरीव परिवारको लागि खाद्यान्नको पूर्ण ग्यारेन्टी गरेको छु ।
अन्त्यमा, हाम्रो मिडिया मार्फत के संदेश दिन चाहनुहुन्छ ?
म सम्पूर्ण नेपाली जनतालाई भारतीय मिडियाको बिराेध गरी मेरो साथ दिनु भएकाेमा धन्यवाद भन्न चाहन्छु । मेरो वास्तविक छवी ऐना जस्तै छ । कुनै साजिसले म गल्ने र ढल्ने मानिस पनि होइन । जनताको लागि राजनीतिमा छु, कसैले चरीत्र हत्या गर्दैमा जनताले पत्याउनेवाला छैन र म बिचलित बन्नेवाला छैन । अहिले हामी संकटमा छौं, यसको मौकामा चौका हान्न खोज्ने तत्वलाई पत्ता लगाएर बेनकाब गर्न म नेपाल सरकारसंग अनुरोध गर्दछु । हाम्रो गाउँपालिकामा कोरोना विरुद्ध मेरै नेतृत्वमा धेरै कामहरु भैरहेको छ । म कोरोनाको लडाईसंगै मेरो चरित्र हत्यामा लाग्नेहरु विरुद्ध पनि सशक्त लडाई लड्छु ।

Loading...