भारतीय सेना प्रमुख नरवणे आज नेपाल आउँदै, काठमाडौंमा बढाइयो उच्च सुरक्षा सतर्कता

काठमाडौं, १९ कार्तिक । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपालको तीन दिने भ्रमणमा आउँदै छन् । भारतीय सेना प्रमुख नेपालमा आउने भएपछि काठमाडौंमा उच्च सुरक्षा सतर्कता बनाइएको छ ।
 
नरवणे नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न चार सदस्यीय टोलीका साथ काठमाडौं आउन लागेका हुन् । उनी बुधवार अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने बताइएको छ । 
 
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । यस क्रममा उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छलफल गर्नेछन् ।
 
फर्किने दिन शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।
 
नेपाल–भारत सीमा विवाद चर्किएको बेला लिम्पियाधुरासहितको नेपालको नक्सालाई लिएर नरवणेले विवादास्पद टिप्पणी गरेकाले उनको भ्रमणलाई चासोका साथ हेरिएको छ ।
 
नेपालका सैन्य मामिलाका जानकारहरुले पनि नाकाबन्दीमा जस्तै यो पटकको सीमा विवादमा पनि सैन्य कुटनीतिले संवादहीनता अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्लेषण गरेका छन् ।
Loading...