बक्सिङ्ग स्वर्ण विजेता खेलाडीलाई नगद सहित सम्मान

काठमाडौँ। १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडी सहित साग सफल पार्न सहयोग गर्ने व्यक्ति तथा सङ्घ संस्थाहरुलाई मदन भण्डारी स्पोर्टस एकेडेमीले नगद सहित सम्मान गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले बिहिबार पोखरा रङ्गशालामा आयोजना गरेको खुल्ला रक्तदान तथा खेलाडी सम्मान कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले साग स्वर्ण बिजेता खेलाडीलाइ सम्मान गरेका हुन्। 

सदस्य सचिव सिलवालले खेलकूदले माहोल सिर्जना गर्नुपर्नेमा यस वर्ष कोभिड–१९ का कारण अप्ठ्यारो अवस्था रहेकाले राष्ट्रिय खेलकूद सञ्चालन गर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,“नवौँ राष्ट्रिय खेलकूद फागुन २० देखी गण्डकीमा गर्दछौँ भनेर घोषणा गरेका थियौँ तर अहिले तोकिएको मितिमा सञ्चालन गर्ने अवस्था छैन, अब विसं २०७८ भित्र प्रतियोगिता सञ्चालन गर्छौं ।”

बक्सिङतर्फ सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भुपेन्द्र थापा मगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सनिल शाहीलाई जनही रु ५१ हजार ५०० सहित राखेप सदस्य सिलवालले सम्मान गर्नुभएको हो ।

यसै गरि एकेडेमीले सागमा पोखरामा सञ्चालन भएका आठ वटा खेललाई सफल बनाउन भूमिका खेल्ने खेल सङ्घ, सागका १३ विषयगत समिति, खेलकूदका कर्मचारीलाई प्रशंसापत्र तथा नगदले सम्मान गरेको थियो । 

फोटो – pokharasports.com बाट
 

 

 

 

Loading...