पिपिई लगाएर चिनियाँ उपमन्त्रीसहितको टोली विशेष विमानबाट काठमाडौंमा अवतरण

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गरेको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ।

एयर चाइनाको चेङ्दू–काठमाडौं उडानबाट चिनियाँ टोली साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।चिनियाँ टोलीका सबै सदस्यहरुले कोरोनाबाट सुरक्षित रहन पीपीई लगाएर आएको त्रिभुवन अन्तराष्टिय विमानस्थलमा कार्यरत एक कर्मचारीले जानकारी दिए ।

विमानस्थलमा उत्रेर चिनियाँ टोली सिधै बालुवाटारस्थित चिनियाँ दूतावास गएको छ। कोरोना महामारीका कारण उनीहरू बाहिर नबसी दूतावासभित्रै बस्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

नेपालमा प्रतिनिधि सभा विघटन र सत्तारुढ नेकपामा विभाजन आएपछि राजनीतिक संकट बढेका बेला चिनियाँ उपमन्त्रीको टोली नेपाल आएकाले राजनीतिक भेटघाटहरु तय भएको हुनसक्ने बताइएको छ । उपमन्त्री गुओको टोलीले राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर आएको पनि चर्चा गर्ने गरिएको छ ।

बेइजिङबाट सिचुवानको चेङ्दु हुँदै काठमाडौं आइपुगेको चिनियाँ टोलीमा विभागका निर्देशकसहित चार जना रहेको बताइएको छ । चिनियाँ टोलीले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा नेकपाको अर्को समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

नेकपाको प्रचण्ड–नेपाल समूहका एक नेताका अनुसार चिनियाँ टोलीले चीनका राष्ट्रपति सी चिनफिङको सन्देश सबै नेताहरूलाई सुनाउने छन्, जुन नेकपा एकीकृत रहोस् र राजनीतिक स्थिरता धरापमा नपरोस् भन्ने हुन सक्ने छ।

‘नेकपाका नेताहरूसँग चिनियाँ टोलीले राष्ट्रपति सी चिनफिङको सन्देश सुनाउने र फेरि पनि पार्टी एकताको सम्भावना खोज्न प्रेरित गर्ने जस्तो देखिन्छ’, ती नेताले भने, ‘तर परिस्थिति धेरै अगाडि बढिसकेको अवस्थामा अहिले एकताको कुरा भन्दा पनि थप क्षति कसरी रोक्ने भन्ने छलफलको विषय हुनसक्छ।’

नेकपाको करिब दुई तिहाई बहुमतको सरकार बनेपछि आर्थिक साझेदारी र ठूला लगानीका परियोजना अगाडि बढाउने चरणमा रहेको चीनका लागि प्रतिनिधि सभा भंग भएर पार्टी नै विभाजित भएको घटनाले अप्ठेरो अवस्था सिर्जना भएको छ। गत वर्ष राष्ट्रपति सीको भ्रमणको क्रममा भएका सम्झौता कार्यान्वयन हुन सकेका छैनन्, जसमा नेपाल पक्ष उदासिन देखिएको भन्दै बेइजिङ असन्तुष्ट छ।

Loading...