निषेधाज्ञा फिर्ता नलिए आन्दोलनमा उत्रिने व्यवसायीहरुको चेतावनी

काठमाडौं । उद्योगी व्यवसायीहरुले थपिएको निषेधाज्ञाप्रति आपत्ति जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना भाइरस महामारी नियन्त्रणका लागि थप गरेको ६ दिनको निषेधाज्ञाप्रति उनीहरूले आपत्ति जनाएका हुन् ।

विज्ञप्ति जारी गर्दै विराटनगरमा उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघ र विराट ब्यापार संघले बुधबार संयुक्त रुपमा निषेधाज्ञा फिर्ता लिन आग्रह गरेका छन्।

सरकारले बन्दावन्दीको अवस्थामा कर मिनाह नगर्ने, खानेपानी, टेलिफोनमा सहुलियत नदिने हुँदा उद्योगीहरुले थप गरिएको निषेधाज्ञा धान्न नसक्ने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए।

उनले अहिलेको परिस्थितिमा विकल्प विनाको लकडाउन वा निषेधाज्ञालाई निरन्तरता दिन नसकिने बताए। त्यसैगरि उद्योगीहरुले अहिलेको अवस्थामा उद्योग, ब्यापार व्यवसाय क्षेत्र पूर्णरुपमा बन्द गर्नु पर्ने वा निषेधाज्ञा उल्लंघन गर्ने अवस्था सिर्जना भएको बताएका छन्।

निषेधाज्ञा अन्त्य गर्दै नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले अवलम्बन गरेको मापदण्ड अनिवार्य पालनाको अनुगमनसहित उद्योग ब्यापार सहज रुपमा चलाउने वातावरण तयार गर्नुपर्नेमा विराट ब्यापार संघका अध्यक्ष सुजन थापाले जोड दिए। यसका लागि आफै ब्यवसायीहरु समेत सतर्क र मापदण्ड पालना गर्नेतर्फ उन्मुख हुनुपर्ने उनको भनाइ छ।

निषेधाज्ञा महामारी नियन्त्रणको विकल्प नभएको जनाउँदै उद्योगीहरुले यसक्रममा उद्योग व्यवसाय बन्द हुँदा कर्मचारी, श्रमिक, प्राविधिकको व्यवस्थापन गर्न समस्या, बैंकको ऋण, ब्याज किस्ता, विमा प्रिमियम, घर बहाल तिर्न सकस परेको बताएका छन्।

 

himalpost.com बाट

Loading...