ट्वीटरमा खुलेनन मोदी, टेलिफोनमा भने द्वीपक्षीय सम्बन्ध राम्रो बनाउने कुरा

काठमाडौँ। नेपाल र भारतबीच सीमा विवाद चुलिएपछि संवादहीनताको अवस्थामा रहेका नेपाल र भारतका प्रधानमन्त्रीबीच शनिबार वार्ता भएको छ। भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार टेलिफोन गर्दै बधाई दिएका थिए।

भारतीय विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई दिएका उल्लेख छ।

‘उहाँले भारतले हालसालै राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यता प्राप्त गरेकामा पनि बधाई दिनुभयो,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा छ।

दुई प्रधानमन्त्रीले कोरोना महामारीको प्रभाव कम गर्न दुई देशले गरिरहेका प्रयासहरुको सराहना पनि गरेका थिए। प्रधानमन्त्री मोदीले नेपाललाई कोरोना प्रभाव कम गर्न निरन्तर सहयोग गर्ने पनि सुनिश्चित गरेको भारतले जानकारी दिएको छ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच सभ्यता र संस्कृतिका तहमा भएका सम्बन्धको स्मरण पनि ओलीसँग गरेका थिए। मोदीले वार्ताका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद पनि दिएका थिए ।

भारतकाे स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री केपी अाेलीले ट्वीटरमा दिएकाे शुभकामनामा माेदीले कमेन्ट गरेका छन् । तर, ट्वीटरमा भने माेदीले नेपाल भारतकाे सम्बन्धका बारेमा भने कुनै उल्लेख गरेका छैनन् । उनले ट्वीटरमा धन्यवाद मात्र लेखेका छन् । माेदीले सार्कका नेपाल र पाकिस्तान वाहेकका अरु देशका प्रधानमन्त्री तथा राष्ट्रपतिकाे ट्वीटर पाेष्टमा भने दुइ देशकाे सम्बन्धका बारेमा खुलेर लेखेका छन् । 

माेदीले नेपालका प्रधानमन्त्रीसँगकाे टेलिफाेन सम्वादमा भने दुइ देशकाे सम्बन्धका बारेमा कुरा गरेकाे बताइएकाे छ । 

Loading...