गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४ करोड सहयोग

चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले चार करोड रुपैयाँ सहयोग गरेको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका–१५ मा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले आज थप रु चार करोड सहयोग गरेको हो । यसअघि महानगरले फाउण्डेशनलाई रु चार करोड दिइसकेको छ ।

महानगरपालिकामा आयोजना गरिएको कार्यालयमा प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन ।

सो अवसरमा फाउण्डेशनका अध्यक्ष धुर्मुसले रंगशाला निर्माणको कामलाई अगाडि बढाउन यो सहयोगले सहज बनाएको प्रतिक्रिया दिए । उनले स्थानीय सरकार र जनताको सहयोगमा रंगशाला निर्माण कार्यलाई टुंगोमा पुर्‍याउने बताए । रंगशाला निर्माण सहयोगार्थ यसअघि महायज्ञको आयोजना गरिएको थियो ।

चेक हस्तान्तरणको अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालसँगै उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको उपस्थिति रहेको थियो ।

Loading...