खाडीको सन्देश (भाग १)

बच्चा बेलामा कसैले सबैभन्दा गाह्रो काम के हो प्रतीक ? भनेर सोध्यो भने म फ्याट्टै जवाफ दिन्थेँ, ‘पढ्नु नपरे हुन्थ्यो ।’

विभिन्न बाहाना, घरको दबाब र गाली सुन्दै स्कूल गयो । स्कूल हिँड्ने बेला घर फर्किने समय आउला र भन्ने लाग्थ्यो।

स्कूल पुगेपछि गृहकार्य पूरा नहुँदा फेरि सरको कुटाइ। रातो भएका हात लुकाउँदै सरसँग रिसाउँदै बस्थेँ। पढ्दै गयो जब घडीमा ४ बज्थ्यो, त्यो जति रमाइलो क्षण केही लाग्दैनथ्यो। अझ भनौ गर्मी, जाडो या दशै विदाको अघिल्लो दिन घर फर्किदाको पल जिन्दगीकै सबैभन्दा उत्कृष्ट पल लाग्थ्यो ।

बिस्तारै समयले गति लिँदै गयो । समयसँगै उमेर पनि बढ्दै गयो। पढाईमा धेरै अल्छी गरेकोले होला भने जस्तो र चाहेजस्तो केही पनि भएन। घर परिवारको एक्लो छोरो, बुबा आमा किसानी गरेर पनि पढ् पढ् भनिरहनुहुन्थ्यो । तर, मलाई पढाइमा रुची नै लागेन।

स्कूल जाँदा होस् या घरमा मलाई जेसुकै कार्य गर्दा पनि गीत सुन्नुपथ्र्यो । जतिबेला पनि गीत गुनगुनाउन मन लाग्ने । केही मन मिल्ने साथीहरु मकहाँ आउँथे । उनीहरु मैले गाएको सुनेर हाँस्थे । उनीहरु प्राय मलाई केही शब्दहरु होंच्याएर भन्थे । अनि जान्थे। पढाइमा कमजोर थिए म । पाठमा भएका प्रश्नका जवाफ दिन सक्दैनथेँ । न त साथीहरुले सोधेका प्रश्नका जवाफ दिनसक्थे । जब साथीहरु मलाई गिज्याउथे । म रिसाएर ढुङ्गा फाल्न खोज्थे । उनीहरु भागिहाल्थे।

राम्रो गतिमा पढाइ भएन । सायद पढ्नु मेरो भाग्यमा थिएन । त्यसो भएपछि एउटी बहिनी र घरको खर्चको लागि वैदेशिक यात्रामा निस्किनु पर्यो। माध्यमिक तहको पढाइ सकेर मैले समाते विदेशको यात्रा । घरबाट निस्कदा बाबाले भन्नुभयो, राम्रो पढेको भए यहिँ केही गर्नहुन्थ्यो छोरा । पढिनस् । विदेशमा त धेरै संघर्ष गर्नुपर्छ । घरको अवस्था यस्तो छ । साहुबाट लिएको रिन समयमै बुझाउन सकिएन भने हामीलाई उठिबास नै लाउँछन । अलि सोंचेर गहन रुपमा कार्यमा लाग्नु।

आमा र बहिनी गहभरी आँसु बनाइसकेका थिए । मन भारी थियो । रसिला आँखाका साथ आशिर्वाद दिइरहनुभएकी आमा र बहिनीलाई ‘हिँडे है’ भन्दै म घरबाट निस्किएँ। मेरो घरभन्दा केही तलका राजन दाइसँग मेरो यात्रा काठमाडौ हुँदै दुबईको एक ठूलो सहरमा गएर रोकियो। दुबई एयरपोर्टमा जहाजबाट ओर्लनासाथ त्यहाँको गर्मीले स्वागत गर्यो । एकैछिनमा आगोमाथि बसेझैँ भयो।

बुटवलको गर्मी त सहन नसक्ने अर्घाखाँचीको म यस्तोमा कसरी बस्ने होला भन्दै सोंचिरहेको थिएँ। राजन दाइलाई सोधेँ, ‘दाइ काम गर्ने ठाउँमा त एसीको व्यवस्था हुन्छ होला नि है ?’

‘ठाउँ हेरेर हुन्छ भाइ।’ -राजन दाइले उत्तर दिए ।

केही समयको यात्रापछि हामी लालीगुराँस नामक कम्पनीमा पुग्यौँ। त्यहाँबाट भित्र छिरेपछि एकैछिन यहिँ बस्दै गर म मालिकलाई भेटेर आउँछु भन्दै राजन दाइ माथि गए।

करिब १ घण्टा कुरेपछि राजन दाइ एक अर्का नेपालीसहित तल आए । उनले भने, ‘भाइ प्रतीक तिमी धेरै भाग्यमानी रहेछौ । यही कम्पनीमै काम पायौ। केही समय यहिँ गर । भाषा बुझ्दै गएपछि चित्त नबुझे अरु खोजौँला ।’

घरमा बुबासँग राम्रो ड्राइभिङको काम पाइन्छ । तलब पनि राम्रै दिन्छ भन्दै आशा देखाएका थिए उनले। मैले सोधेँ, ‘दाइ काम ड्राइभिङकै हो ?’

उनले भने, ‘मैले सबै यो भाइलाई भनेको छु । ऊ पनि नेपाली नै हो । तिम्रो सबै हेरचाह उसले गर्छ अब केही समय। मेरो बाहिर पनि केही कामहरु छन् । म आउँदै गर्छु।’

उनले अझै थपे, ‘अँ साच्चै, घरमा कुरा गर है त।’ त्यहिँको फोनबाट उनले घरमा फोन पनि लगाइदिए ।

मैले फोनमा सकुशल पुगेको । त्यही कम्पनीमा जागिर पाएको कुरा घरमा सुनाए ।

पहिलो पटक घरबाट यसरी बाहिर निस्किएको म, सबै कुराहरु नौलो मानिरहेको थिएँ। राजन दाइसँग आएको अर्को मान्छेसँग परिचय भयो । उनको घर पूर्वी नेपालको झापामा रहेछ । उनको नाम कमल पराजुली हो भन्ने पनि थाहा पाएँ। परिचय गराएसँगै राजन दाइ त्यहाँबाट निस्किए । कमलले मलाई हामी बस्ने ठाउँतिर लग्दै भने, ‘केही समय तिमी अलि गाह्रोसँग बस्नुपर्छ, भाषाको केही समस्या पनि हुन्छ होला । तिमी बिस्तारै सिक्दै जानेछौ ।’

विभिन्न कुराहरू सोध्दै उनले एउटा पुरानो घरभित्र छिराए। त्यहाँ निकै अँध्यारो कोठा थियो । त्यो कोठा देखाउँदै उनले भने, ‘अहिलेलाई यहिँ आराम गर्दै गर। अन्य नेपाली साथीहरु पनि छन । अहिले काममा गएका होलान। भोलि उनीहरु सँगै काममा आउनु । हामी त्यहिँ भेट्नेछौँ।’ – यति भनेर उनी त्यहाँबाट निस्किए।

साँझको करिब ५ बजेको थियो । म गर्मीले न सुत्न सकेँको थिए, न बस्न नै। निकै फोहोर ठाउँ थियो । दुर्गन्ध आइरहेको थियो । त्यो हेर्दा हेर्दै घरको याद आयो। साँझको समय केही खाने कुरा छ कि भन्दै यता उता हेर्न खोजेको किचन पनि निकै फोहोर रहेछ । कसरी बसेका होलान यस्तोमा नेपाली साथीहरु भनेर सोचे । भोलि राजन दाइलाई बोलाएर भन्नुपर्यो भन्ने सोचेँ । भोक पनि लागिरहेको थियो । रातको करिब ११ बजे बल्ल नेपाली साथीहरू आए। मलाई देखेपछि एकजनाले सोधिहाले, ‘को हो तिमी ? नेपालबाट आएका हौ ? अनि यहाँ कसरी ?’

मैले परिचय सहित सबै कुरा भनेँ। त्यतिकैमा विकास नाम गरेका एकजनाले भने, ‘तिमीलाई पनि त्यो राजनले फसायो होइन ? ऊ एक दलाल हो । यस्तै गरेर धेरै नेपालीहरुलाई यहाँ ल्याएर छाड्छ । अनि आफू कहाँ हराउँछ पत्तै हुँदैन।’

उसले भावुक हुँदै थप्यो, ‘यहाँको गर्मी, एसीहरु केही दिँदैन, हामीलाई त बानी लागिसक्यो। किचन बाहेक अरु कोठामा लाइट पनि छैन। ग्यास सकियो किन्नलाई पैसा हुँदैन । तलब पनि समयमा दिदैनन् । दिए पनि आधा मात्रै दिन्छन। ८ घण्टा भनेर काममा लागियो १५ घण्टा काममा लगाउँछन । ओभरटाइमको पैसा पनि पाइदैन। यस्तोमा कोठा दियो गैरकानुनी रुपमा राखेको छ । बाहिर हिँड्न समेत समस्या हुन्छ। भागेर हिँडे पनि कहाँ जानू, कसरी जानु। कम्पनीको नाम नेपाली भए पनि मालिक रसिया को छ। यो अर्को साथीको आएको २६ दिनमा आमा बित्नुभयो । तर, कम्पनीले बिदा दिएन। रुन्छ, चिच्याउँछ, बेहोस हुन्छ तर हाम्रो आवाज सुनिदिने कोही हुँदैन। प्राय नेपाली आफ्नैले गर्दा फसेका छन यहाँ । फेरि तिमी पनि थपियौ।’

विकास नामका ती साथीको कुराहरु सुनेपछि म छाँगाबाट खसेजस्तै भएँ। भर्खर माध्यमिक शिक्षा सकेर आएको म, उसका कुराले मेरो शरीर कापिरहेको थियो। आफ्नो जीवन नै अन्धकारमा फसेको जस्तो लाग्यो। म केही बोल्न सकिन, धेरै आत्तिएको देखेर एउटाले भन्यो, भाग्यमा जे लेखेको हुन्छ त्यही हुन्छ के गर्नु न आत्तेउ।

अघिसम्म लागेको भोक पुरै हरायो पानी बाहेक केही पनि खान सकिन त्यो दिन। उनीहरुसँग धेरै बोल्न पनि सकिन । आजलाई खाना खाएर सुतौँ भोलि भोलि सल्लाह गरौँला के गर्ने भनेर । यस्तै भन्दै थिए उनीहरु। एकैछिनको गफगाफपछि कामबाट आएका उनीहरु सुते। गर्मीले कता जाउँ भन्ने भएको म निकै गम्भीर भएर घरमा रहँदाका कुराहरु सम्झिएँ, हिँड्ने बेला बुबाले भनेको कुरा मानसपटलमा चलिरह्यो। त्यो रात निद्राले छोप्नै सकेन ।

त्यसपछि के भयो होला प्रतिकलाई ? अब के गर्छ त उसले ? काम कस्तो पायो होला ? दोस्रो भागको पर्खाइमा बस्नुहोला ।

(यो श्रृङ्खलाबद्ध कथा हो । यो कथा हो तर यसमा विदेशीएका थुप्रै नेपालीहरुको सत्यता छ ।)

Loading...