कोरोना संक्रमित विमितको बिमा रकम तीन दिनभित्र दिन बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमाको रकम भुक्तानीका लागि बीमा समितिलाई पुनः ताकेता गरेको छ। यसअघि ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएको मन्त्रालयले बिहीबार ३ दिनमै भुक्तानी गर्न निर्देशन दिएको हो।

मन्त्रालयले यसअघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बीमा समितिलाई ३ दिनमै रकम मुक्तानी गर्न निर्देशन दिँदै मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले पत्र काटेका हुन्।

‘कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गरि दैनिक रुपमा मन्त्रालयमा जानकारी गराउनु’, मन्त्रालयको निर्देशनमा भनिएको छ, ‘भेरिफिकेशन गर्न बाँकी दाबीको फेरिफिकेशन यथाशीघ्र सम्पन्न गरी भुक्तानी व्यवस्था मिलाउनू।’

अर्थ मन्त्रालयले बीमा समितिमा आएको दाबीको विवरणसमेत मागेको छ। कुनै समस्या भए अर्थात् पेन्डिङमा भए त्यो सबै विवरण मन्त्रालयले मागेको हो।

‘कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दाबी भुक्तानीमा के कस्ता समस्या देखिएका छन् ? हाल कुनकुन बीमा कम्पनीमा कति संख्यामा दाबी गरेको विवरण पेन्डिङ रहेको छ ? सो को विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के प्रयास भइरहेको छ ?’, मन्त्रालयको निर्देशनमा भनिएको छ, ‘यस मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नुपर्ने विषयहरु के के हुन् ? यसको विस्तृत विवरण मन्त्रालयमा पठाउनुहोला।’

Loading...