उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि तीन ठाउँमा मतदान हुँदै

काठमाडौं, ३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरी तीन ठाउँमा मतदानको व्यवस्था मिलाइएको छ ।

महासंघमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ । अहिलेको मतदान भने अध्यक्ष वाहेक वरिष्ठ उपाध्यक्षसहितका पदका लागि हुन लागेको हो । यसपटक बरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान मैदानमा छन् । दुई जनाकै प्यानलमा अन्य पदका प्रत्यासीहरुको सेट घोषणा गरिएको थियो । महासंघको यस निर्वाचनमा कोरोना संक्रमित भएकाहरुले पनि मतदान गर्न पाउने भएका छन । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ ।

मतदानका लागि एशोसिएट तर्फको मतदान कार्की ब्यांक्वेट बबरमहलमा तोकिएको छ भने । वस्तुगत समूहको मतदान केन्द्रीय कार्यालय टेकुमा तोकिएको छ । त्यसैगरी उद्योग वाणिज्य समूह जिल्ला नगरतर्फको मतदान कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा तोकिएको छ । बरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल एशोसियट तर्फका मतदाता भएकोले बबरमहलस्थित कार्की व्याङ्केटबाट मतदान गर्दैछन् भने र बरिष्ठ उपाध्यक्षकै अर्का उम्मेदवार प्रधान वस्तुगत समूहको सदस्य भएकाले महासंघको केन्द्रीय कार्यालय टेकुबाट मतदान गर्दैछन् ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय ढकाल र प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा यो पद अहिले सर्वाधिक महत्वपूर्ण हो ।

महासंघका दुई केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदहरुमा चुनाव भइरहेको छ ।

महासंघको ५४ औं साधारणसभा ११ मंसिरदेखि सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट साधारणसभा उदघाटन गरेका थिए । बन्दसत्र पनि भर्चुअल विधिबाटै गरिएको थियो ।

गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण पटक–पटक स्थगित भएको थियो ।

Loading...