आमा म त्यो बोर्डिङ स्कूलमा पनि पढ्दिनँ

सुयोगः बुवा एउटा पेन्सिल कटर किनिदिनुहोस् न, पेन्सिल तिखार्न चाहियो।

वाग्ले सरः ऊ त्यहाँ चक्कु छ, त्यही चक्कुले तिखार न।

सुयोग मुख खुम्चाउँदै सुस्तरी भन्छ,‘सधैं यही भन्नुहुन्छ’।

वाग्ले सरः के रे अहिले बढी बोल्दा गालामा थप्पड लगाइदिन्छु, जा उता आमासित गएर बस्।

सुयोग निन्याउँरो मुख लगाउँदै हातमा कपीकलम लिएर भान्छाकोठामा जान्छ।

वाग्ले सर भने आँखा तर्दै भन्छन् : बदमास खाली हल्ला मात्र गर्छ। एकछिन शान्तिले बस्न दिने होइन।

लेख्दा लेख्दै केही पाना भरिसकेपछि वाग्ले सर एकपटक आफ्नो लेखलाई दोहोर्याएर पढ्दै देखिएका त्रुटिहरू सच्याउँछन्। अनि पत्रिकाको कार्यालयतर्फ जाने तरखर गर्छन्।

हिँड्नभन्दा अघि वाग्ले सर सुयोगलाई बोलाउँदै भन्छन् : सुयोग एक गिलास पानी ल्या तँ।

केही क्षणमै हातमा एक गिलास पानी लिएर सुयोग वाग्ले सर सामुन्ने आइपुग्छ र ‘बुवा पानी लिनुहोस्’ उनले भन्छ।

सुयोगले पानीको गिलास दिँदै गर्दा उसको औंलामा रगत आएको देखेपछि वाग्ले सर नरम हुँदै भन्छन् : छोरा तेरो हातबाट त रगत आइराखेको छ, के गरेर हात काटिस् हँ।

अलि डराएर अड्कदै सुयोग भन्छ : अघि पेन्सिल तिखार्न लाग्दा चक्कुले स्वाट्ट काट्यो।

वाग्ले सर छोरालाई सम्झाउँदै भन्छन् : तलाई पेन्सिल कटरले तिखार्नु पर्थ्यो नि।

सुयोग : तपाईले नै अघि भन्नुभएको हैन¸चक्कुले पेन्सिल तिखार भनेर।

वाग्ले सर आफैंले भनेको कुरा सम्झन्छन् र मिलाएर भन्छन् : ए अत, तर तलाई तिखार भनेर कहाँ भनेको थिए र आमालाई तिखारी दिन भन भनेको पो थिएँ, त्यसमाथि यत्रो ७/८ वर्षको लाठे भइसकेपछि एउटा कलम त गतिलोसँग तिखार्न सिक्नुपर्छ नि।

त्यसैबीच सुयोगकी आमा आएर सोध्छिन् : बाबु छोरा के कुरामा विवाद गरिरहेका छन्।

वाग्ले सर छोरालाई दोष देखाउँदै भन्छन् : के हुनु नि, तिम्रो छोराले एउटा पेन्सिल तिखार्ने ढंग नभएर हात काटेछ।

सुयोगकी आमा भन्छिन् : हेर हेर औंलाबाट रगत आइरहेको छ। हात काटेपछि मलाई भन्नुपर्दैन?

सुयोगको औंलामा हल्का काटेको हुन्छ।

सामान्य मात्र काटेको हुन्छ र रगत थामिदै हुन्छ। उनी सुयोगलाई जाऊ बुवासँग गएर ह्याण्डी प्लास्ट लगाएर आऊ भन्छिन्।

तर वाग्ले सर अलि मितव्ययी बन्दै भनिहाल्छन् : के को ह्याण्डी प्लास्ट लगाउनु पर्‍यो एउटा सफा कपडाले बाँधे भइहाल्यो नि। हामी कत्रो कत्रो काट्दा त खरानी लगाएर छाड्थ्यौं।

सुयोगकी आमा आफ्नो श्रीमानको मितव्ययिता पारा देखेर दिक्क हुँदै भन्छिन् : कस्तो लोभी तपाईं त छोराको हात काट्दा पनि एक रुपैयाँको ह्याण्डी प्लास्ट किनिदिन सक्नुहुन्न, गाउँतिरका को हो को नचिनेको मान्छेलाई हप्ता दिनसम्म खाना खुवाएर पाल्न सक्नुहुन्छ, साथीभाइलाई गाह्रो साह्रो पर्दा महिना दिनको तलब दिएर पठाउन सक्नु हुन्छ। आफ्नो परिवारको लागि त के नै पो गर्न सक्नुहुन्छ र त्यसमाथि एउटा पेन्सिल कटर किनिदिएको भए केही हुने नै थिएन, २ हप्ता भयो छोराले पेन्सिल कटर भनेको।

वाग्ले सर झर्किदै भन्छन् : भो भो धेरै नबोल।

सुयोगकी आमाः हिँड छोरा,पसल गएर म तिमीलाईे ह्याण्डी प्लास्ट र कटर किनिदिन्छु।

सुयोग : हुन्छ

वाग्ले सरःगए म पनि बाहिर।

सुयोगकी आमाः हैन खानै पाकेको छैन, खाना नखाई कता जाँदै हुनुहुन्छ?

वाग्ले सरःम जहाँ गए पनि तिमीलाई के को चासो?

सुयोगकी आमाःचासो भएर त सोध्दै छु नि।

वाग्ले सरः कता हुनु प्रेसतिर जान लागेको ।

सुयोगकी आमाः अनि खाना कता खानु हुन्छ? आज यति चाँडै किन जान लाग्नु भा?

वाग्ले सरः आज अल्लि धेरै काम छ, त्यसैले। म उतै होटलतिर खाना खान्छु। मलाई पर्खिन पर्दैन। तिमी पनि छोरासँगै खाना खाएर उसलाई स्कुल छोड्न जानू।

वाग्ले सर अबेर राति मात्र प्रेसको काम सकेर घर आइपुग्छन्। सुयोग खाना खाएर गृहकार्य गरेर निदाइसकेको हुन्छ।

खाना खाएपछि वाग्ले सर खाटमा पढ्दै बसिरहेका हुन्छन्।

सुयोगकी आमा : सुयोगको स्कुलबाट यो पत्र आएको रहेछ,दुई महिनाको स्कुलको फि १० हजार पुगिसकेछ। ढिला तिरे जरिवाना लाग्छ रे।

वाग्ले सर कुनै मतलब नगरी भन्छन् : अब तिमी नै तिरन बोर्डिङ स्कुलको फि¸मलाई किन भन्छ्यौ। मैले त छोरालाई सरकारी स्कुल मै राखौ भन्दा आफैंले ढिपी गरेकी हैनौ,सबैका छोराछोरी बोर्डिङ स्कुलमा पढ्छन्,पढाइ पनि बोर्डिङ स्कुलमै राम्रो हुन्छ भनेर भर्ना गर्न लगायौ। मेरो महिनामा आउने भनेको तलब २०/२५ हजार मात्र त हो। कोठा भाडा आठ हजार¸ घर खर्च तिमीलाई सात हजार, छोराको फि पाँच हजार¸मेरो खर्च तीन चार हजार¸ त्यो एउटा तलबले के के धान्ने हो? एक दुई वर्ष त जेनतेन तिरे¸ अहिले पत्रिकाले त्यही तलब पनि दुई महिना भै सक्यो, दिएको छैन।

आफ्नो श्रीमानको बानीलाई सम्झाउँदै उनी भन्छिन् : अहिले त तलब मात्र भयो, किताब लेखेर पैसा आएको बेला पनि कहिले कसलाई, कहिले कसलाई सहयोग गर्नुभयो। अब त आफ्नो र घर परिवारको बारेमा पनि सोच्नुहोस् न।

वाग्ले सर अलि रिसाउँदै भन्छन् : तिम्रो हातमा पैसाको बिटो हालि दिए शान्त हुने थियौ, अहिले कचकच मात्रै गर्छ्यौ।

बुवा आमाको सानो तिनो झगडा सुयोग नियाउरो मुख लगाउँदै हेरेर बस्छ।

घरमा बचत पैसा कत्ति पनि थिएन। वाग्ले सरको तलब पनि तीन महिनादेखि आएको थिएन। एक महिना नहुँदै सुयोगको स्कुलबाट फेरि अर्को बिल सहितको पत्र आउँछ। पत्रमा हप्तादिन भित्र स्कुलको सबै फि नतिरेमा अन्तिम त्रैमासिक परीक्षामा सहभागी नगराइने व्यहोरा जनाइएको हुन्छ।

समय बित्दै जान्छ, हप्तादिन बितिसक्दा पनि आवश्यक रकम जोरजाम हुन सक्दैन।

परीक्षाको दिने दिन पनि आइपुग्छ। सुयोग कतै परीक्षा दिन नपाइने हो कि भन्ने भय र साथीहरूका बीचमा अपमानित हुने डरले त्रसित हुँदै स्कुल पुग्छ।घण्टी बज्छ, विद्यार्थीहरूलाई लाइनबद्ध गरिन्छ। लामो समयसम्म शुल्क नतिर्ने सबै विद्यार्थीहरूको नाम बोलाउँदै लाइन अगाडि उभ्याइन्छ।

अरुको बेइज्जतिमा सबै हाँस्ने गर्छन्, लाइनमा रहेका विद्यार्थीहरू फि नतिरेका कारण लाइन अगाडि उभिन बाध्य आफ्ना साथीहरूतिर हेर्दै हाँसिरहेका हुन्छन्। उभिएका विद्यार्थीहरूमध्येको सुयोग भय र बिल्लाले पसिनै पसिना हुन्छ। मुख रातोपिरो बनाउँदै शिर झुकाइरहन्छ। अन्य उभिएका विद्यार्थीहरू हविगत पनि त्यस्तै हुन्छ। उनीहरूमध्ये केहीले आँसु समेत झार्छन्। आँसु झार्नेमा सुयोग पनि एक हुन्छ।

लाइनमा भएकालाई परीक्षा दिन हलमा पठाएपछि भोलि नै स्कुल फि तिर्ने सर्तमा उनीहरूलाई पनि हलमा पठाइन्छ। परीक्षा सुरू हुन्छ। अनि क्षणिक सन्तोषको सास फेर्दै सुयोग कापीका पानाहरूमा आफ्नो क्षमता पोखिदिन्छ।
भोलि पनि उही बाध्यता खडा हुन्छ। हिजो जे भए पनि आफ्नो जस्तो बाध्यता भएकाहरू धेरैको संख्यामा थिए तर आज जम्मा १०/१५ जना मात्र। आज हिजोको भन्दा ज्यादा बेइज्जत र गालिगलौज गरिन्छ। परीक्षाको समय सुरू भएको १० मिनेटपछि बल्ल उसलाई परीक्षा दिन दिइन्छ। यस्तो परिस्थितिमा परीक्षा के को राम्रो हुन सक्थ्यो!

स्कुलमा कक्षाका विद्यार्थी साथी हुन् या कक्षाका शिक्षक,उसलाई तिम्रो बा आमाले स्कुलको फि तिर्न सक्नुहुन्न भनेर अपमान गर्थे। त्यसैले होला सुयोग परीक्षा अघि पछि साथीहरूमाझ सकेसम्म देखा पर्दैनथ्यो।

पाँच वटा विषयको परीक्षा सकिसकेको थियो। यत्तिको समयान्तरमा अब सुयोगमात्र लाइनमा एक्लै ठडिन्छ।

यी सबै घटनाले उसको कलिलो मस्तिष्कमा गहिरो चोट पुर्‍याउँछ। उसको मानसिक पीडाको घाउ बढ्दै जान्छ। ऊ कमजोर बन्छ। बल्लतल्ल गरेर उसको अन्तिम परीक्षा सकिन्छ।

परीक्षा सकिएपछि यसो गर्छु उसो गर्छु भनी बोकेका उमंगहरू आफैं ओइली झर्छन्।

यस्तैमा सुयोगको परीक्षाफल पनि आउँछ। परीक्षा राम्रोसँग दिन सकेको भए पो परीक्षाफल राम्रो आउँथ्यो, ऊ परीक्षामा केबल उत्तीर्णमात्र हुन्छ। हुँदाहुदाँ मनको पीर र तापले सुयोगलाई खाटमा पल्टाउँछ।

वाग्ले सर पनि छोराको अवस्था देखेर चिन्तित हुन थाल्छन्।

आमाका आँखामा वेदनाका आँसु छचकिल्छन्। छोराको यस्तो हविगत हुँदा पनि वाग्ले सर लाचार थिए।

एक हप्तासम्म सिकिस्त भएपछि सुयोगलाई जचाउन नजिकको स्वास्थ्य केन्द्रमा लगिन्छ तर के ले गर्दा बिरामी भएको हो¸ के रोग लागेको हो केही पत्ता लाग्दैन। उसको शरीर दिनानुदिन सुक्दै, आँखा गाडिँदै गएको हुन्छ।
एकदिन राति उसलाई हनहनती ज्वरो आउँछ । सपनामा पनि ऊ बर्बराउँछ। शरीर चिसो हुँदै जान्छ। जीउभरि खलखलती पसिना आउँछ। ऊ छट्पटाउँछ।

आफू बाँच्ने आशा मार्दै रातदिन आफ्नो स्याहारसुसार गरिरहेकी आमासँग सुयोग भन्छ : आमा, मलाई त रोगले चाप्यो। सायद म बाँच्दिनँ होला आमा।

सुयोगकी आमा हत्केलाले छोराको मुख छोप्दै भन्छिन् : त्यसो नभन छोरा, तिमीलाई केही हुँदैन।भोलि नै तिम्रो बुवा र म तिमीलाई ठूलो अस्पतालमा जचाउन लग्छौ,अनि त तिमीलाई ठीक भै हाल्छ नि।

सुयोगः आमा म बाँचे भने पनि त्यो स्कुलमा पढ्दिनँ,अर्को बोर्डिङ स्कुलमा पनि पढ्दिनँ। मलाई सरकारी स्कुलमा भर्ना गरिदिनुहोस् है।

सुयोगकी आमा सुयोगलाई सान्त्वना दिँदै भन्छिन् : हुन्छ बा हुन्छ। तिमी पहिला ठीक होऊ। अनि तिम्रो बुवासँग सल्लाह गरौंला।

सुयोग थप्दै भन्छ : आमा त्यो स्कुलको फि तिर्दिनुस् न है। मलाई त्यो स्कुल र त्यहाँका साथीहरू र शिक्षकहरू कत्ति पनि मनपर्दैन।

सुयोगकी आमा सुयोगलाई थप सान्त्वना दिँदै भन्छिन् : हुन्छ छोरा म तिम्रो बुवालाई भोलि नै गएर त्यो स्कुलको फि तिर्न र तिमीलाई त्यहाँबाट निकाल्न लगाउँछु। रातको दस बजिसक्यो तिम्रो बुवा अझै आउनुभएको छैन। अहिले आउनु भएपछि सबै कुरा बताउँछु। तिमी सुत ल।

सुयोग : निन्द्रै लाग्दैन,कसरी सुत्ने?

मध्यरातमा बल्ल वाग्ले सर घर आइपुग्छन्।

बाहिरको सिमसिम वर्षाले उनको शरिर भिजेको हुन्छ। भोक र थकानले उनको अनुहार मलिन देखिन्थ्यो।

सुयोगकी आमा : पैसा खोज्नु भयो त?

वाग्ले सरः ल्याएँ निकै संघर्ष गरेर। प्रधान सम्पादकसँग झगडै गर्नुपर्यो, तलब नदिए भोलिदेखि नै पत्रिकाको जागिर छोड्छु भनेर धम्क्याएर बल्ल बल्ल ल्याएँ। अनि छोरालार्इ अहिले कस्तो छ? उसले खाना खायो कि खाएन?

सुयोगकी आमाः कस्तो हुनु। बिहान भन्दा दिउसो ज्वरो झन् बढेको थियो। दिनभरि पानीपट्टी गरेपछि अहिले ज्वरो अलि कति घटेको छ। केही पनि खान मन गरेको थिएन अघि बल्ल बल्ल कर गरेपछि अलिकति जाउलो र सुप खायो, भर्खरै निदाएको छ।

वाग्ले सरः भोलि बिहानै छोरालाई अस्पताल लगौंला । जाऊ गएर खाना पस्क।

आफ्नो परिस्थिति देखेर ऊ लाचार हुन्छ र छोरालाई समयमै औषधिपोचार गर्न नसकेको भन्दै श्रीमतीसँग माफी माग्छ।

सुयोगकी आमा त्यो भावुक परिवेशलाई अन्तै मोड्दै भन्छिन् : आउनुहोस् खाना खानुहोस्,खाना सेलाउन लागि सक्यो।

भोलि बिहान सुयोगलाई अस्पताल लगेर जचाउने तरखर भयो। तर सुयोग जान मानेन।

अनि वाग्ले सर सम्झाउँदै भन्छन् : किन मान्दैनस्? छोरा रोगले तेरा आँखा बटारिसके,किन अटेरी गर्छस्?

सुयोग ढिप्पी गर्दै भन्छः पहिला स्कुलको फि तिर्नु अनि बल्ल अस्पताल जान्छु।

वाग्ले सर छोराले अति नै ढिप्पी गरेर पिल पिल आँसु झार्ला झैं गरेपछि ‘ल हुन्छ’भन्छन्।

वाग्ले सर सुयोगको स्कुल फि तिर्न र उसलाई त्यो स्कुलबाट निकाल्न जान्छन्। तीन महिनाको फि र परीक्षा शुल्क गरी सत्र हजार हुन्छ। त्यो सबै तिरेर छोरालाई स्कुलबाट निकालेर उनी डेरामा फर्कन्छन्।

सुयोग वाग्ले सरलाई देख्ना साथ भन्छ : बुवा मेरो फि तिर्नुभयो?

वाग्ले सरः अँ तिरेँ। त्यहाँबाट निकालेर पनि आएँ।

सुयोगलाई बल्ल सन्तोषको सास आउँछ। अनि बल्ल ऊ जचाउनको लागि अस्पताल जान मान्छ।

अस्पताल पुग्दा टिकट काट्न ढिलो भइसकेकोले भोलि बिहान जचाउन आउन भनिन्छ।

सुयोग र उसकी आमा कोठामा फर्किछन् भने वाग्ले सर प्रेसतिर जान्छन्।

एक महिनदेखि बिरामी परेको सुयोगको अनुहार भोलिपल्ट उज्यालो हुन्छ।

ऊ बिहानै उठेर साथीहरूसँग खेल्न जान्छ।

खेलेर फर्केपछि ‘आमा अब त म ठीक भएनि’ भन्छ।

सुयोगलाई म्वाँई खाँदै उनकी आमा उसलाई आफ्नो काखमा बेर्दै भन्छिन् : तिमीलाई कुनै रोगले बिगार गरेको रहेनछ,खाली चिन्ताले बिरामी बनाएको रहेछ। मेरो छोरा,अब तिमीलाई केही हुँदैन।

चैते हुरीले विश्राम पाइसकेको हुन्छ। वसन्तको आगमनले बोट बिरूवामा नयाँ पालुवा पलाइसकेका हुन्छन्। नयाँ वर्षको आगमनसँगै बोर्डिङ स्कुलतर्फ लम्किने सुयोगका पाइलाहरू सरकारी विद्यालयतर्फ लम्किन्छन्।

Loading...