आधा घण्टामै नतिजा आउने ‘एन्टिजेन विधि’बाट नेपालमा कोरोना परीक्षण सुरू

काठमाडौँ । सरकारले कोरोना परीक्षण गरेको आधा घण्टामा नै रिपोर्ट आउने एन्टिजेन विधिबाट परीक्षण सुरु गरेको छ।

काठमाडौँको अनामनगर लगायतका विभिन्न स्थानमा सुरू गरिएको यो विधीको परीक्षणबाट तुरुन्तै नतिजा आउने छ । संक्रमितको शरीरमा विकास हुने एन्टिबडीसँगै पीसीआरले झैँ जीवाणु छ कि छैन भनेर पत्ता लगाउन र्‍यापिड टेस्ट किटमार्फत गरिने परीक्षण ‘एन्टिजेन’ सुरू भएको हो ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेका अनुसार डब्ल्युएचओको सहयोगमा यो विधीबाट परीक्षण थालिएको हो । यसको ‘सेन्सिटिभिटी’ राम्रो रहेकाले यो परीक्षण विश्वसनीय रहेको उनले जनाए ।

काठमाडौं उपत्यकामा आजदेखि हरेक दिन ५ सय जनाको एन्टिजेन विधिबाट परीक्षण सुरू हुनेछ । उपत्यकामा यो प्रभावकारी देखिए मास स्क्रिनिङ पनि सुरू हुनेछ । यसको प्रयोग सुरक्षाकर्मीका ब्यारेक तथा स्कूल कलेजमा पनि गर्ने योजना छ ।

हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर ४, ७ र ९ मा आजदेखि एन्टिजेन परीक्षण थालिएको उनले जानकारी दिए। महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चाबहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा एन्टिजेन परीक्षण सुरु गरिएको छ।

एन्टिजेन परीक्षण विधि अमेरिका, दक्षिण कोरिया लगायतका मुलुकले अवलम्बन गर्दै आएका छन् ।

Loading...