विघटनविरुद्ध अझै कडा आन्दोलन गर्ने प्रचण्डको सडक उद्घोष

 

काठमाडौं, १४ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनका विरुद्ध अहिले भइरहेको भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पार्टी विभाजित भएपछि दाहाल–नेपाल पक्षले पहिलो पटक राजधानीमा गरेको शक्ति प्रदर्शनका क्रममा प्रदशनी मार्गमा आयोजित सभामा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको गोटी बनेको आरोप लगाए ।

संसद विघटनविरुद्ध निर्मम संघर्ष गर्नु परे पनि तयार रहेको भन्दै उनले भने, ‘बिगतदेखि पटक पटक ढाँट्दै आएका ओलीले अन्तिम संसद बिघटन गरेकै दिन बिहानसम्म ढाँट्दै महाफट्याई गरे । मैले आलोपालो प्रधानमन्त्री हुने सम्झौतामा लचिलो हुनु र उनलाई विश्वास गर्नु नै मेरो ठूलो गल्ती भयो । हामी अहिले जनतामा छै । जो जनतामा हुन्छ त्यो नै अधिकारिक नेकपा पार्टी हुन्छ । भोलि नै अर्को चरणको कार्यक्रमको तयारी गर्दैछौं । यो भन्दा अलि कडा । प्रधानमन्त्री वा अरु भ्रममा नबस्नुहोला । सिधासिधा कुरा हो, हामी अन्तिम समयसम्म लड्छौं ।

प्रचण्डले देशभरिका जनताले प्रम ओलीको कदमलाई गलत र असंवैधानिक भनेको स्मरण गराए । साथै उनले सर्वोच्च अदालतले जनताको भावना र मर्मलाई बुझेर फैसला आउनेमा आफू विश्वस्त रहेको बताए ।

उनले भने ‘मैले भन्ने गरेको छु बिघटन त केपी ओलीको सरकार भएको हो  हामी हैन । हामी यहाँ छौ । सदन भंग भएको छैन। भंग त ओली सरकार भएको हो ।’

Loading...