अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको दर्पण प्रकाशन समिति गठन

काठमाडाैं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अनेसास दर्पण प्रकाशन समिति (२०२०–२०२२) गठन भएको छ । २९ वर्षको लामो इतिहास बोकेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ५० ओटाभन्दा बढी च्याप्टरहरु गठन भई समाजले नेपाली भाषा, साहित्य, संस्कृति सम्बर्द्धनका लागि सक्रिय रूपमा विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।

अनेसास केन्द्रीय कार्यसमितिद्वारा नियमित प्रकाशन भइरहेको अनेसास दर्पण प्रकाशन समिति (२०२०–२०२२) का लागि प्रधान सम्पादक लालगोपाल सुवेदी (अमेरिका बोस्टन), कार्यकारी सम्पादक हरि काफ्ले ‘शैव’ (अमेरिका बोस्टन) रहेका छन् ।

त्यसैगरी नेपालबाट सम्पादकमा ज्ञानु अधिकारी, रमेश दाहाल, मनोज न्यौपाने लगायत नीलकण्ठ सुवेदी – अमेरिका, धनीराम सापकोटा – न्यूयोर्क, हेमन्त गिरी –जापान, यादव देवकोटा –पोर्चुगल, सुरेश पोख्रेल- अमेरिका , मदन पौडेल –बेलायत, डी.आर. न्यौपाने ‘सूर्य’ – कोरिया, प्रदीप खनाल -भारत र नमराज लामिछाने- साउदी अरब गरी ११ सदस्सीय सम्पादन मण्डल गठन भएको छ ।

नेपाली भाषा साहित्य र संस्कृति सम्बर्द्धनका निमित्त यस समितिले विश्वभर छरिएर रहेका नेपाली साहित्यकारका अमूल्य रचनाहरुलाई अनेसास दर्पणमार्फत आम पाठकमाझ पुर्याउनेदेखि अनेसासको विधानअनुसार नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानका लागि बिभिन्न कार्यक्रम हरु मार्फत विश्वभर छरिएर रहेका साहित्यकारहरुलाई जोड्ने काम गर्नेछ भन्ने कुरामा विश्वस्त रहेको अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ ले बताए ।

त्यसैगरी अनेसास केन्द्रद्वारा गठन भएको यस समितिले ‘नियमित र स्तरीय प्रकाशन, अनेसास दर्पण’ मूलमन्त्रसहित अनेसास दर्पणमार्फत नेपाली साहित्यिक सिर्जनालाई आम पाठकसामु लैजाने कुरा प्रधानसम्पादक लालगोपाल सुवेदीले बताए ।

विश्वका मुख्य–मुख्य देशहरूबाट सक्षम र खारिएका साहित्यिक स्रष्टाहरू यस सम्पादन मण्डलमा मनोनयन भएकाले अनेसास दर्पण यस कार्यकालमा उत्कृष्ट रूपमा स्थापित भई आम पाठकहरुको मन जित्न सफल हुने कुरा कार्यकारी सम्पादक हरि काफ्ले ‘शैव’ले बताएका छन् ।

आगामी सातौँ अंक राष्ट्रकवि माधव घिमिरे विशेषाङ्कको रूपमा प्रकाशित हुने र त्यसका लागि स्रष्टाहरूसँग लेख रचनाका लागि आह्वानसमेत गरिसकिएको कुरा सम्पादक रमेश दाहालले जानकारी दिए ।

Loading...