बिद्यालयमा टिभीबाटै पढाउने प्रविधी शुरुगर्दै शिक्षामन्त्रीले भने,'दक्ष शिक्षक अब टिभीमा'



टेलिभिजन मार्फत् पढाई हुने भर्चुयल कक्षाको शिक्षा मन्त्री धनिराम पौडेलले उद्घाटन गरेका छन् । आइतबार शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमी भक्तपुरको श्रव्यदृष्य स्टुडियोबाट शिक्षा मन्त्री पौडेलले भर्चुयल कक्षाको उद्घाटन गरेका हुन् ।

 



विद्यालयमा सूचना तथा सञ्चार प्रविधि अर्थात्( ICT ) का माध्यमबाट प्रत्यक्ष शिक्षण सिकाई गर्ने उद्देश्यले यस्तो कक्षाको शुरुवात गरिएको हो । यो प्रविधि मार्फत् अब शैक्षिक जनशक्ति विकास केन्द्रको श्रव्यदृष्य स्टुडियोबाट विषयगत शिक्षकले पढाएको कुरा सामुदायिक विद्यालयका विद्यार्थीले आआफ्नो कक्षा कोठामा रहेको टेलिभिजनको पर्दामा प्रत्यक्ष हेर्न र सिक्न सक्नेछन् ।


तत्कालको लागि उपत्यका बाहेक भुकम्प प्रभावित ११ वटा जिल्लाका १ सय वटा विद्यालय भर्चुयल कक्षामा जोडिएका छन् । त्यसका लागि मन्त्रालयले छनौटमा परेका एक सय वटा विद्यालयमा आवश्यक प्रविधि र उपकरणहरुको जडान गरिसकेको छ ।
 
 
 
 
 


भर्चुयल कक्षाको उद्घाटन गर्दै शिक्षामन्त्री धनिराम पौडेलले विद्यालय शिक्षामा पढाईको गुणस्तर वृद्धि गर्ने उद्देश्यले भर्चुयल कक्षाको शुरुवात गरिएको बताए । अब दक्ष शिक्षकले टिभीबाटै शिक्षणकार्य गर्नसक्ने हुदा विद्यार्थीहरु लाभान्वित् हुने उनको दावी रहेको छ ।
 
 
विश्वका सम्बृद्ध देशहरु सरह प्राप्त गरेको यस उपलब्धिले आफूलाई उत्साहित् बनाएको र गौरवको महसुश भएको मन्त्री पाैडेलले भनेका  छन् ।
 
कार्यक्रमको प्रभाव तथा विद्यालयको तत्परतालाई हेरेर भर्चुयल कक्षालाई देशभरी विस्तार गर्न सकिने उनको भनाई थियो । मन्त्री पौडेलले केही वर्ष भित्रमै देशैभरीका माध्यमिक तहका सबै विषयको पठन पाठन यो प्रविधि मार्फत गर्ने तयारीमा मन्त्रालय लागेको पनि जानकारी दिए ।
 
 

यो माध्यमबाट अबको एक महिनासम्म कम्तिमा पनि अंग्रेजी, गणित र विज्ञान विषयको पढाई हुने शैक्षिक जनशक्ति विकास केन्द्रकी कार्यकारी निर्देशक देवकुमारी गुरागाईंले बताईन् । त्यसको लागि केन्द्रले विषयगत शिक्षकहरुको छनौट समेत गरिसकेको छ । केही समयपछि नै थप १ सय वटा विद्यालयलाई पनि यो प्रविधिमा जोड्ने केन्द्रले जनाएको छ ।


यस प्रविधिबाट बिषयगत् शिक्षकहरुको अभाव भएका बिद्यालयहरु लाभान्वित् हुने र बिद्यार्थीहरुले दक्ष शिक्षकबाट सिक्ने अवसर पाउनुकासाथै शिक्षणसिकाईसमेत मनोरंजनपूर्ण र उपलब्धीपूर्ण हुने बिश्वास गरिएको छ ।
 
फोटो ; जीना लामा

© Copyright Protected. All rights reserved with NonStopKhabar.com