निजी र सरकारी पाठ्यपुस्तकबीचकाे विभेद अन्त्य हुने



शिक्षामन्त्री धनिराम पौडेलले निजी र सरकारी बिद्यालयका पाठ्यपुस्तकबीच विभेद रहेको भन्दै त्यसको अन्त्यको लागि मन्त्रालयले काम अगाडि बढाएको बताएका छन्।  

‘संस्थागत र सामुदायिक विद्यालयका पाठ्यपुस्तकको छपाईमै  विभेद छ , त्यसको अन्त्यको लागि आउँने शैक्षिकसत्रबाटै कक्षा १ र २ का पुस्तक रंगीनमा छाप्ने तयारी भइरहेको छ’, मन्त्री पौडेलले भने ।

 

आगामी शैक्षिक सत्रबाट बालबालिकाले कालो स्याउ र सेतो सुगा पढ्नु नपर्ने भन्दै उनले  बालमैत्री पाठ्यपुस्तक बनाईनेसमेत बताए ।

शनिबार संवाद डबलीमा खोजी प्रकाशनले प्रकाशन  गरेका बाल साहित्यका १६ पुस्तकको लोकार्पण गर्दै मन्त्री पौडेलले सामुदायिक विद्यालयको पाठ्यपुस्तकलाई बालबालिकाको मनोविज्ञानअनुसार तयार गर्न मन्त्रालयले काम अगाडि बढाएको जानकारी  दिएका हुन् ।

उनले पाठ्यपुस्तक बाध्यताले नभएर रहरले पढ्ने बनाउन मन्त्रालयले पुस्तक नीति बनाएर लागू गर्न लागेको दावी गरे ।

 

‘हामीसँग पुस्तक नीति नभएकाले कस्ता पुस्तक प्रकाशन गर्ने र कसले वितरण गर्ने भन्ने नीति नै छैन, यसकारण अन्यौलता छ । त्यसको अन्त्य गर्नैपनि पुस्तक नीति बनाउनु आवश्यक छ’, मन्त्री पाैडेलले भने ।

उनले एक गाउँ एक पुस्तकालयलाई अगाडि बढाउनु पर्ने धारणा पनि राखे। १६ ओटा बाल साहित्य पुस्तक प्रकाशन गरेर राम्रो  काम गरेको भन्दै खोजी प्रकाशनलाई मन्त्री पौडेलले धन्यवादसमेत दिए । 

© Copyright Protected. All rights reserved with NonStopKhabar.com